

काठमाडौं । चार वर्षका लागि एक दिवसिय मान्य प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश आइपुगेको छ । नेपाली टोलीका स्वागत गर्न ठूलो संख्यामा समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल पुगेका थिए ।
नवनियुक्त खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासहित खेल पदाधिकारी र नेपाली क्रिकेटका फ्यानहरु ठूलो संख्यामा सोमबार साँझ विमानस्थलमा स्वागतकालागि सहभागी भएका थिए। जिम्बाबेमा सम्पन्न आईसीसी विश्वकप छनौट खेलमा एक दिवसीय मान्यता पाएर फर्केको टोलीलाई विमानस्थलमा भव्य स्वागत गरियाे ।
अर्को वर्ष हुने विश्व कपका लागि छनोट हुन असफल भएपछि नेपाल एक दिवसिय मान्यता पाउन भने सफल भएको थियो । सातौं स्थानको प्ले अफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै र अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले एक दिवसिय मान्यता पाएको थियो ।
खेलाडीलाई स्वागत गर्न सयौँ समर्थकहरु विमानस्थल पुगेका थिए। उनीहरुले क्रिकेट टिमको प्रसंसा गर्दै नाराबाजी समेत गरे। आईसीसी छनोटको समूह चरणमा हङकङलाई पराजित गरेको नेपालले प्ले अफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको थियो। अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि क्रिकेटले हात पारेको यो सबैभन्दा ठूलो सफलता हो।