काङ्ग्रेसका पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काङ्ग्रेसका पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको थियाे ।

पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङेको समर्थनमा दावी पेश गरिएको थियो । पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

७१ वर्षीय नेता पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मनुभएका पोखरेल २०२८ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बन्नुभएको थियो ।