

काठमाडौं, २८ जेठ । बीएण्डसी मेडिकल कलेजलाई सरकारले सम्बन्धन दिन खोजेको भन्दै नागरिक अभियन्ताहरुले बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले शुक्रबार बालुवाटार नजिक प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ’स्वास्थ्य सेवा हो, व्यापार होइन, सरकार सेवक हो, मालिक होइन’ , सिटामोलमा व्यापार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । केहिबेर प्रदर्शन गरेपछि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अभियन्ता नारायण वाग्ले, खगेन्द्र संग्रौला, संजीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको बृहत नागरिक आन्दोलनले जनाएको छ । यसअघि बिहीबार डा. गोविन्द केसीले झापाको बि एण्ड सी मेडिकल कलेजलाइ सम्बन्धन दिन लाागिएको भन्दै विरोध जनाउनुभएको थियो भने शुक्रबार केसीले चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक डाक्नुभएको भन्दै त्यसप्रति सचेत गराउन प्रधानमन्त्रीलाई पत्र लेख्नुभएको छ । आयोगको बैठकबाट बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिए प्रधानमन्त्री ओलीले गर्नुभएका अन्य भ्रष्ट तथा अनैतिक कार्यहरुको विरुद्धमा अर्को चरणको सत्याग्रह सुरु गर्ने केसीले चेतावनी दिनु भएको छ ।



चिकित्सा शिक्षा आयोगको स्वायत्तताविरुद्ध स्वेच्छाचारी डण्डा चलाउन लागि परेको केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारको विरोधमा बालुवाटारमा प्रदर्शन गरेका बृहत् नागरिक आन्दोलनका १८जना अभियन्तालाई गिरफ्तार गरिएको छ। आज बालुवाटारमा ११ बजे प्रदर्शनको क्रममा उहाँहरुलाई गिरफ्तार गरी कमलपोखरी प्रहरी वृत्तमा लगिएको छ।
साहित्यकार एवं अभियन्ता खगेन्द्र संग्रौलासँगै नारायण वाग्ले, युग पाठक, संजीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशि विक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने र अन्जान बाबुलाई पक्राउ गरिएको हो।
लोकतान्त्रिक प्रकृया र संविधानलाई नै घातक प्रहार गर्न उद्यत ओली सरकारले जनस्वास्थ्यको पक्षमा उत्रिएका अभियन्ताहरुलाई गिरफ्तार गर्दै आफ्नो सर्वसत्तावादी अनुहार फेरि प्रदर्शन गरेको छ।
हामी उहाँहरुको तत्काल रिहाइ गरिएन भने कडा संघर्षका कार्यक्रम गर्न हामी बाध्य हुने छौं। हामी जनस्वास्थ्यको बजारीकरणलाई तीव्रता दिने सरकारको अलोकतान्त्रिक र अवैध कदमको भत्र्सना गर्दै जनस्वास्थ्यको पक्षमा देशभरि प्रतिरोध जारी राख्नपनि सबैलाई अपिल गर्दछौं।