

काठमाडौं, २५ जेठ । साल्ट ट्रेडिङ कर्पोरेशनले सामान बिक्रीका लागि खोलिने आफ्ना बिक्री केन्द्रको समय परिवर्तन गरेको छ । आजबाट बिहान ७ देखि ९ बजेसम्म बिक्री केन्द्र खोल्ने समय तोकिएको छ । यसअघि बिहान १० देखि दिउँसो ३ बजेसम्म बिक्री गर्दै आएकोमा सरकारले घोषणा गरेको २० प्रतिशत छुटको सामान विक्री गर्नथालेसँगै केन्द्रमा भीड थेग्न नसकेपछि समय परिवर्तन गर्नुपरेको कर्पोरेशनले जनाएको छ ।
कर्पोरेशनकाअनुसार छुटको सामान किन्नेको भीडले गर्दा कोरोनाको जोखिम बढेको भन्दै काठमाडौँ जिल्ला प्रसाशन कार्यालयको निर्देशनमा आजदेखि लागु हुने गरी समय परिवर्तन गरिएको छ । कर्पोरेशनले गएको शुक्रबारदेखि उपत्यकाका विभिन्न पाँच वटा विक्री केन्द्रमार्फत प्रतिपरिवार (पाँच जनासम्म) का लागि ग्यास (एसटीसी) एक सिलिण्डर, आटा, तेल, चिनी, नुनलगायतका सामानमा यसअघि बिक्री गर्ने मूल्यमा २० प्रतिशत छुटमा बिक्री गर्दै आएको छ । छुटको सामान किन्न कर्पोरेशनका बिक्री केन्द्र १० बजे मात्रै खुल्ने भए पनि उपभोक्ता विहानै ८ बजेदेखि लाइन लाग्ने गरेका छन् ।