उपत्यकामा फेरि जेष्ठ २० गतेसम्मकालागि निषेधाज्ञा थप, किराना पसल पनि खोल्न नपाइने

उपत्यकामा फेरि जेष्ठ २० गतेसम्मकालागि निषेधाज्ञा थप, किराना पसल पनि खोल्न नपाइने

काठमाडौं, ११ जेठ । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायको संयुक्त बैठकले कडा प्रावधानसहित जेष्ठ २० गतेसम्मका निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

एक साताको निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर बन्द गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । सो निषेधाज्ञालाई अझ प्रभावकारी बनाउन भन्दै प्रशासनले किराना पसल तथा डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने निर्णय गरेको हाे।

सागसब्जी, माछामासु, दूधलगायत बिहान ९ बजेसम्म बेच्न अनुमति दिइएको छ। तर त्यसपछि तरकारी पसल पनि खोल्न नपाइने गरी प्रशासनले कडा पारेको हो।

उहाँका अनुसार निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । त्यस्तै सर्वसाधारणको आवतजावतलाई पनि पूर्ण रुपमा बन्देज गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

त्यस्तै कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाई गरिएको छ भने सवै प्रकारका सार्वजनिक र नीजि निर्माण कार्यलाई स्थगन गर्ने तथा निर्माण सामाग्री बोकेका सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाइने पराजुलीले बताउनुभयो ।

प्रशासनले लगाएको निषेधाज्ञा उलङ्घन गरेको पाइएमा कैद र जरिवानासमेत गर्ने गरी आदेश जारी गरिएको पराजुलीले जानकारी दिनुभयो । त्यस्तै बैठकले यसअघि जारी गरिएका सवै प्रकारका पास समेत खारेज गरेको छ । दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो ।