

काठमाडौं । आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत सातौं स्थानको प्ले–अफमा नेपाल नेदरल्यान्ड्ससंग ४५ रनले पराजित भयो । आजको खेल परिणामसंगै नेपालले प्रतियोगितामा आठौं स्थान बनाएको छ ।
१ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभर ४ बलमा १ सय ४४ बनाउँदै अलआउट भयो । नेपालको ब्याटिङ प्रदर्शन आप पनि निकै कमजोर रह्यो । ओपनर ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए भने अर्का ओपनर अनिल शाह ८ रन बनाउँदै पभेलियन फर्केका थिए । पारस खड्काले २२ रन तथा दिपेन्द्र संह ऐरीले २५ रनको योगदान दिएका थिए ।
आज आरिफ शेख ५ रन तथा रोहित पौडेल खाता ै नखोली आउट हुन पुगे । त्यस्तै शक्ति गौचन पनि डक आउट भए भने करण केसीले १३ रनको पारी खेले । सोमपालले अन्त्यमा ३६ रन जोड्दै नेपालको पारी केही उकासे पनि विकेट हातमा नभएका कारण नेपाल पराजित हुन पुग्यो । सन्दिपले पनि अन्त्यमा करियरको सर्वाधिक १४ रनको पारी खेले । नेदरल्यान्ड्सका बलर रोलोफ भान डेर मर्वले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८९ रन बनाउन सफल भएको थियो । नेपालका लागि पेस बलर सोमपाल कामीले नेदरल्यान्ड्सलाई सुरुवातमा तीन झट्का दिएका थिए । १० ओभरमा २४ रन दिंदै उनले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सन्दिप लामिछाने र ललित राजवंशीले दुईदुई विकेट लिए भने शक्ति गौचनले एक विकेट लिए ।
नेपालले पपुवा न्यु गिनीलाई हराउँदा र अन्य नतिजा आफ्नो पक्ष्यमा जाँदा नेपालको एक दिवसीय मान्यता पहिले नै सुनिश्चित भएको थियो भने विश्व क्रिकेट लिग मार्फत नेदरल्यान्ड्सले पनि एक दिवसीय मान्यता पाइसकेको थियो ।