सर्वोच्चमा १४६ सांसदको रिटः संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग

सर्वोच्चमा १४६ सांसदको रिटः संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग

काठमाडौं, १० जेठ । प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै माधव नेपाल सहितका बिपक्षी गठबन्धनले सर्वाेच्च अदालतमा रिट निवेदन दिएका छन् ।

सोमबार कांग्रेस सभापति देउवा, नेपाल(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा १४६ निवर्तमान सांसदहरुले सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।

रिट दायरका १४६ जना नै निवर्तनमान सांसदहरु सर्वोच्च पुगेका थिए । राष्ट्रपति निवास शीतल निवासलाई विपक्षी बनाएर दर्ता गरिएको रिटमा प्रतिनिधि सभा विघटन बदर गर्न माग गरिएको छ । उत्प्रेषणयुक्त परमादेशसमेत शीर्षको मुद्दामा देउवालाई प्रधानमन्त्री नियुक्त गर्नसमेत माग गरिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको मिलिभगतमा वैकल्पिक सरकार निर्माणको प्रक्रियालाई अवरोध गराएर प्रतिनिधिसभा विघटन गरिएको गठबन्धनको ठहर छ ।

गठबन्धनले संविधानको धारा ७६ (५) को सरकार निर्माणका लागि आह्वान भएर प्रक्रियासम्मत ढंगबाट दाबी परिसकेपछि त्यसलाई राष्ट्रपतिले इन्कार गर्न नमिल्ने व्याख्या गरेको छ । रिट दायरपछि कांग्रेस नेता रमेश लेखकले प्रतिनिधिसभाको ५४ प्रतिशत सांसदहरुले बिभिन्न तीनवटा मागदावी सहित रिट दायर गरिएको जानकारी दिनुभयो ।

त्यस्तै एमालेका नेता भीम रावलले संविधान मिचेर प्रधानमन्त्रीसंग मिलेर राष्ट्रपतिले संसद भंग गरेको र यसले नेपालको लोकतन्त्र र संविधानमाथि नै प्रहार भएकाले रिट दायर गरिएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते राति प्रतिनिधि सभा भंग गरी निर्वाचन घोषणा गर्नुभएको थियो । प्रधानमन्त्रीमा ओलीले १५३ जना सांसद र कांग्रेस सभापति देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित दाबी गरेपछि राष्ट्रपतिले दुबैको दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा संसद भंग गर्नुभएको थियो । संसद भंग भएपछि एमालेका माधव नेपाल पक्ष सहितका बिपक्षी गठबन्धनले बिरोध गर्दै आएको छ ।