काठमाडौं । जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपालले सातौं स्थानको प्ले-अफमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । नेपाली समयअनुसार सो खेल १.१५ बजे सुरु हुने छ ।
समूह ‘ए’ मा नेदरल्यान्ड्स एक जित दर्ता गर्दै चौथो स्थानमा रहेको थियो । त्यस्तै नेपालले पनि समूह ‘बि’ मा एक जित दर्ता गर्दै चौथो स्थानमा रह्यो । नेपालले अघिल्लो खेलमा पपुवा न्यु गिनीलाई पराजित गर्न सफल रह्यो । अर्को तर्फ, नेदरल्यान्ड्सले हङकङलाई हराएको थियो । नेदरल्यान्ड्सको सो जितले नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि सुनिश्चित भएको थियो ।
आजको खेलमा दुवै टोलीलाई केहि गुमाउनु छैन । नेदरल्यान्ड्सले विश्व क्रिकेट लिगमार्फत नै एक दिवसीय मान्यता पाइसकेको थियो । यस अघि नेपाल नेदरल्यान्ड्ससँग चार पटक भिड्दा दुईमा जित र दुईमा हार बेहोरेको छ । नेपाल सन् २०१४ मा विश्वकप छनोट प्रतियोगितामा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । त्यस्तै डिभिजन-२ मा भने नेपालले जित दर्ता गर्न सफल भएको थियो । विश्व किकेट लिगमा नेपालले एक खेलमा जित हांसिल गरेको थियो भने एक खेलमा पराजय भोगेको थियो ।
नेपालको ओपनिङले ज्यादै आलोचना खेपिरहेको बेला आज सो पक्ष्यमा सुधारिएको प्रदर्शन गर्ने मौका हुने छ । अघिल्लो खेलमा स्पिनर ललित राजवंशीले बलिङ गरेका थिएनन् । उनलाई आजको खेलमा विश्राम दिइने सम्भावना पनि रहेको छ । -हाम्रो खेलकुदबाट