ओलीले विश्वासको मत नलिने, २१ घण्टा भित्र नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट दलहरुलाई आह्वान

ओलीले विश्वासको मत नलिने, २१ घण्टा भित्र नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट दलहरुलाई आह्वान

काठमाडौं , ६ जेठ । पछिल्लो पटक नेपालको राजनीतिले कुन बेला कुन बाटो लिन्छ अनुमान लगाउन कठिन छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएको जानकारी दिनु भएकाे छ ।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (५)बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।