समानुपातिकको उम्मेदवारी दर्ता आज

समानुपातिकको उम्मेदवारी दर्ता आज

मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचि आइतबार निर्वाचन आयोगमा बुझाउँदै छन्।

आयोगले बन्दसूचि बुझाउन बिहान १० देखि अपरान्ह ५ बजेसम्म समय तोकेको छ।

समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र ७ वटा प्रदेशसभाका लागि २ सय २० जना सदस्य चुनिनेछन्। समानुपातिक निर्वाचन प्रणालीमा चुनावमा भाग लिन ८८ दलले आयोगमा दल दर्ता गराएका छन्। यिनै दलले मात्र बन्दसूचि बुझाउन पाउनेछन्।

राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि अलग अलग बन्दसूचि आयोग केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ। प्रदेशसभाका हकमा प्रदेशपिच्छे अलगअलग सूचि हुनु पर्नेछ।

आयोग प्रवक्ता सहसचिव नवराज ढकालले प्रतिनिधिसभा र ७ प्रदेशसभाका लागि समानुपातिकतर्फको बन्दसूचि बुझ्न आयोगमा छुट्टै डेस्क स्थापना गरिएको जानकारी दिए। समानुपातिकतर्फको बन्दसूचिमा परेका व्यक्ति प्रत्यक्षतर्फ उम्मेदवार हुन पाउने छैनन्।