ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

काठमाडौँ, २८ वैशाख।उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताउनुभएको छ ।

स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को आज निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले मुख्यसचिव डा. शंकरदास वैरागी र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आइसोलेशन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन टेलिफोनबाट निर्देश गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसातादेखि नेपाली सेनाले सो केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित चल्न लागेको आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकतानुसार दुई सय शय्यासम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि कामपाले बजेट र नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन् । आइशोलेशन केन्द्र चलेपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्ट्रार महासेनानी डा सुमनराज डंगोलले केन्द्रका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलको पनि सहभागिता रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।रासस