लुम्बिनी समाचार : बिरामी निको भएर घर फर्कन थाले

लुम्बिनी समाचार : बिरामी निको भएर घर फर्कन थाले

देउखुरी, २३ वैशाख।दाङका चार पालिकाको सहयोगमा लमहीमा कोभिड सङ्क्रमण व्यवस्थापनका लागि उपचार केन्द्र सञ्चालन भएपछि देउखुरी क्षेत्रका बिरामीलाई सहज भएको छ । लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ श्ययाको एचडीयू अस्पताल सञ्चालनमा आएको छ ।

लमही नगरपालिका तथा गढवा, राप्ती र राजपुर गाउँपालिकाको लगानीमा अस्पताल सञ्चालनमा आएको छ । सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु भएको अस्पतालका प्रमुख डा पुष्प भुसालले जानकारी दिनुभयो । “कोरोना अस्पताल निर्माण गरेर उपचार थालिएको छ”, डा भुसालले भन्नुभयो, “अक्सिजनसहितको अस्पताल तयार भएको हो ।”

लमही–४ अर्नहवा निवासी ४५ एक वर्षीय पुरुषलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । होमआइशोलेशनमा बस्दा श्वासप्रश्वास पक्रियामा समस्या भयो । अक्सिजन दिएर बिरामी भर्ना गर्नुपर्ने भयो । उहाँलाई लमहीस्थित एचडीयू कोभिड अस्पतालमा भर्ना गरियो । निमोनियाका कारण छातीमा सङ्क्रमण भएको पत्ता लागेपछि दुई दिन कोभिड अस्पतालमा औषधि चढाएर अक्सिजन दिइयो । जसले गर्दा शरीरमा अक्सिजनको मात्रा पूरा भयो । छातीमा देखिएको सङ्क्रमण पनि कम हुँदै गएपछि डिस्चार्ज गरेर घर पठाइएको कोभिड अस्पतालका प्रमुख डा भुसालले जानकारी दिनुभयो ।

“समयमा अक्सिजन र औषधि पाउने हो भने छातीमा हुने थप सङ्क्रमण रोक्न सकिन्छ”, उहाँले भन्नुभयो, “यहाँ भर्ना भएको दुई दिनमा सञ्चो भएर डिस्चार्ज गर्ने अवस्थामा हामी पुग्यौँ ।” कोभिड उपचारका लागि अस्पताल स्थापना भएपछि बिरामीको उपचार सम्भव भएको उहाँले बताउनुभयो ।

पहिलो चरणमा १२ श्यया तयारी अवस्थामा छन् । अन्य १३ थपेर २५ श्यया पु¥याइने छ । श्यया कुरेर बस्दा सङ्क्रमितको ज्यान जोखिममा थियो । देउखुरी क्षेत्रका मानिस बिरामी भएपछि घोराही पुग्नुपथ्र्यो । नेपालगञ्ज, बुटवल नै जानुपर्ने बाध्यता थियो । होम आइशोलेशनमा बस्न नसक्ने र अक्सिजन दिएर उपचार गर्नुपर्ने सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार थालिएको र अहिले सो अस्पतालमा १० बिरामीले उपचार गराइरहनुभएको छ । निको भएर घर जाने क्रम शुरु भएको लमहीका नगरप्रमुख कुलबहादुर केसीले बताउनुभयो ।

अक्सिजन दिनुपर्ने सङ्क्रमित भर्ना

लमहीमा कोरोना अस्पतालको सेवा शुरु भएपछि अक्सिजन दिएर उपचार गर्नुपर्ने बिरामी भर्ना गर्ने गरिएको छ । लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको संयुक्त लगानीमा एचडीयू अस्पताल स्थापना गरिएको हो । जटिल प्रकारका सङ्क्रमितलाई यहाँ भर्ना गर्ने गरिएको छ । पहिलो चरणमा १२ श्ययाबाट उपचार थालिएको छ । बाँकी अन्य शय्या थपिँदैछ । कोरोना अस्पतालमा श्यया नहुँदा सङ्क्रमितको उपचार प्रभावित भएको थियो ।

आइशोलेशन तयार

कोरोना सङ्क्रमित भएको तर, होमआइसोलेशन बस्न नसक्नेका लागि छुट्टै आइशोलेशन तयार पारिएको छ । देउखुरी बहुमुखी क्याम्पसको भवनलाई आइसोलेशनका रूपमा प्रयोगमा ल्याइएको लमहीका नगरप्रमुख केसीले बताउनुभयो । “एउटा कोठा भाडामा लिएर बस्नुभएका, घर परिवारमा अन्य दीर्घरोगी भएकाको हकमा, गरिब विपन्न परिवारका व्यक्तिलाई होमआइशोलेशनमा बस्न असजिलो भएको खण्डमा हामीले उहाँहरुको सुविधाका लागि आइशोलेशन सञ्चालमा ल्याएका हौँ”, केसीले भन्नुभयो, “हामी सबै तयारीका साथ महामारीविरुद्धमा डटेर लागेका छौँ ।”

बाँकेमा एकैरात १० सङ्क्रमितकोे मृत्यु

राँझा– बाँकेमा उपचारका लागि भर्ना भएका थप १० कोरोना सङ्क्रमितको गए राति अस्पतालमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बाँकेका र एक जाजरकोटका रहेका छन् । गए रातिदेखि आज बिहान ७ः०० बजेसम्म उपचारका क्रममा अस्पतालमै उहाँहरुको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै सात जनाको मृत्यु भएको छ । त्यसमा वडा नं १० एउटै वडा निवासी तीन रहेका छन् । भेरी अस्पतालमा नौ र शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–१ निवासी ५८ वर्षीय पुरुषको गए राति १०ः०० बजे, वडा नं ४ निवासी ५५ वर्षीय पुरुषको गए राति १२ः३० बजे, वडा नं १० निवासी ७८ वर्षीया महिलाको गए राति ७ः३० बजे, वडा नं १० निवासी २७ वर्षीय पुरुषको १०ः२० बजे, वडा नं १० का ७८ वर्षीय पुरुषको बिहान १ः४० बजे, वडा नं १२ निवासी ४५ वर्षीय पुरुषको ६ः१५ बजे, वडा नं १९ का ७७ वर्षीय पुरुषको बिहान ४ः३० बजे, भेरी नगरपालिका जाजरकोटका ४३ वर्षीया महिलाको राति ९ः०० बजे र नरैनापुर गाउँपालिका–१ निवासी ५६ वर्षीय पुरुषको आज बिहान ७ः०० बजे मृत्यु भएको छ ।

यसैगरी यही वैशाख १४ गते भर्ना भएका कोहलपुर नगरपालिका–५ निवासी ३४ वर्षीय पुरुषको गए राति ९ः४० बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या बाँकेका १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्य हुनेको सङ्ख्या १२७ पुगेको छ ।

गुल्मीमा एन्टिजेन्ट कीटको अभाव

तम्घास– गुल्मीमा कोरोना परीक्षणका लागि एन्टिजेन्ट किट अभाव भएको छ । लुम्बिनी प्रदेशबाट आएको दुई हजार किट सकिन थालेसँगै जिल्लामा किट अभाव भएको हो ।

प्रदेश सरकारले तम्घास अस्पताल र स्वास्थ्य कार्यालयका लागि पठाएको किट गुल्मीको स्वास्थ्य कार्यालयले महामारीलाई मध्यनजगर गर्दै पालिकालाई पनि प्रदान गरेको थियो । ती पालिकाले अहिलेसम्म किट खरिद गरेका छैनन् भने स्वास्थ्य कार्यालयसँग खरिद गर्ने बजेट अभावका कारण किट अभाव भएको छ ।

स्वास्थ्य कार्यालयले मुसिकोटलाई २५०, धुर्कोट, रुरुक्षेत्र र मदानेलाई दुई÷दुई सय किट उपलब्ध गराएको थियो । अन्य पालिकाका लागि २५ देखि ७५ किट स्वास्थ्य कार्यालयले उपलब्ध गराएको छ भने तम्घास अस्पतालका लागि ७०० किट उपलब्ध गराएको छ । त्यसमध्ये छत्रकोटमा किट सकिएको छ । स्वास्थ्य कार्यालयमा अब १२५ किट मात्रै बाँकी छ ।

तम्घास अस्पतालमा दैनिक ५० किटसम्म खर्च हुन्छ । यही अवस्था निरन्तर रहिरहे बढीमा तीन दिनमा किट सकिने स्वास्थ्य कार्यालयका प्रमुख डा भवानी शर्माले बताउनुभयो । अब पालिकालाई किट आवश्यक परे आफँै खरिद गर्न पालिकालाई पत्राचार गरिएको शर्माको भनाइ छ ।

आफूहरुले प्रदेश सरकारसँग किटको माग गरे पनि आउने कुनै निश्चित नभएको शर्माले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तहले आफँै खरिद गर्नुपर्ने र संयोजन स्वास्थ्य कार्यालयले गर्ने बताउनुभयो ।

अस्पतालका सन्दर्भमा नगरपालिकाले खरिद गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले प्रशासनको विपत्को रकमबाट किट किन्न नमिल्ने र पालिकाले आफैँ खरिद गरेर प्रयोग गर्नुपर्ने बताउनुभयो । मालिका गाउँपालिकाका स्वास्थ्य अधिकृत वसन्तराज भुसालले एन्टिजेन किटभन्दा पनि पिसिआर ल्याब सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्क्रमितको घरघरमै स्वास्थ्य सामग्री

बगनासकाली– पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना सङ्क्रमितका घरघरमा स्वास्थ्य सामग्री वितरण शुरु गरेको छ । यही वैशाख १३ गते गाउँ कार्यपालिकाको निर्णयअनुसार सङ्क्रमितको घरमै पुगी स्वास्थ्य सामग्री वितरण शुरु गरिएको हो । वैशाख १७ गतेदेखि कोरोना सङ्क्रमित भई घरमै आइसोलेशनमा बसेका सङ्क्रमितका लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

बगनासकाली स्वास्थ्य शाखाका प्रमुख मणिराम अधिकारीका अनुसार गाउँपालिकाले कोरोना सङ्क्रमितलाई शक्तिवद्र्धक औषधि, भिटामिन बी, भिटामिन सी, जिङ्क चक्की, च्यवनप्रास, सिटामोल, आवश्यकतानुसार एन्टिबायोटिक औषधि वितरण गरेको छ । त्यसैगरी ज्वरो नाप्ने डिजिटल थर्मोमिटर, अक्सिजन र पल्स चेक गर्न पल्सअक्सिमिटर, मास्क र स्यानिटाइजरलगायतका सामग्री वितरण गरिएको छ ।

गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीका अनुसार कोरोना सङ्क्रमित भई घरमै आइसोलेशनमा बसेकाको स्वास्थ्योपचारका लागि गाउँपालिकाले घरमै सेवा दिन थालेको छ । घरमै बसेकाहरुले ज्वरोदेखि, अक्सिजनसमेत घरमै मापन गर्न सकुन् र शक्तिवद्र्धक औषधि खाएर निको गराउने उद्देश्यले घरमै सेवा दिएको अधिकारीको भनाइ छ । यो अभियान निरन्तर राख्नेसमेत उहाँको भनाइ छ ।

गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना सङ्क्रमितको उपचार सहज र सर्वसुलभ बनाउन घरमै स्वास्थ्य उपचार गराउने निर्णय गरेको थियो । बुधबारसम्म बगनासकालीमा ३८ सङ्क्रमित रहेको र नौ सङ्क्रमितको घरमै पुगी स्वास्थ्य सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले सङ्क्रमितको अवस्थानुसार आवश्यक उपचारको प्रबन्ध मिलाइएको बताउनुभयो ।रासस