अब विकासशिल मुलुकले पनि कोरोनाविरुद्धको खोप बनाउन सक्ने

अब विकासशिल मुलुकले पनि कोरोनाविरुद्धको खोप बनाउन सक्ने

काठमाडौँ, २३ वैशाख।अमेरिकाले कोरोना भाइरस खोपलाई बौद्धिक सम्पदा अधिकारबाट बाहिर राख्ने विश्व व्यापार संगठन (डब्लूटीओ) को प्रस्तावलाई समर्थन गरेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले हिजो यस प्रस्तावमा अस्थायी समर्थन जनाउनुभएको हो । रोयटर्सले डेमोक्रेटिक सांसद र १ सयभन्दा बढी मुलुकको बढ्दो दबावका कारण अमेरिकी राष्ट्रपति बाइडनले डब्लूटीओको प्रस्तावमा समर्थन जनाउनुभएको लेखेको छ । भारत र दक्षिण अफ्रिका जस्ता मुलुकले खोपलाई बौद्धि सम्पदा अधिकारबाट बाहिर राख्नका लागि प्रस्ताव गरेको थियो । उनीहरुका अनुसार कोरोनाविरुद्धको खोपलाई बौद्धिक सम्पदा अधिकारबाट बाहिर राख्दा विश्वभर खोप उत्पादनमा तिव्रता आउने बताएको छ ।

अमेरिकाको समर्थनपछि विश्व स्वास्थ्य संगठनले खुशी व्यक्त गरेको छ । संगठनका प्रमुख डाक्टर टेड्रोस एड्हनोम गेब्रेयसिसले राष्ट्रपति बाइडनको समर्थनले कोरोना महामारीविरुद्धको लडाइमा ऐतिहासिक रहेको प्रतिक्रिया दिनुभएको छ । अमेरिकाको समर्थनपछि अब विकासशील मुलुकमा औषधि उद्योगले आईपीको प्रयोग गरेर कोरोनाविरुद्धको खोप बनाउन सक्नेछन् ।