

काठमाडौं, २२ वैशाख । कोभिड १९ सङ्क्रमणको ‘चेन ब्रेक’ गर्ने भनेर काठमाडौं उपत्यकाका ३ जिल्लामा वैशाख १६ गतेदेखि लागू गरिएको निषेधको आदेश थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञाको अवधि बढाएर वैशाख २९ गतेसम्म कायम राख्ने निर्णय गरेको हो ।
नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएकोमा काठमाडौं उपत्यकामा सङ्क्रमण दर तीव्र रुपमा बढिरहेको हुँदा उक्त सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय, सङ्क्रामक रोग ऐन, र स्थानीय प्रशासन ऐन २९ गतेसम्मका लागि निषेधाज्ञा बढाइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधरण मानिसको आवतजावतको हकमा र सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनको निश्चित मापदण्ड तोकेको छ । निषेधाज्ञाका समयमा सर्वसाधारणले जरुरी महत्वका काम बाहेक जथाभावी हिँडडुल गर्न पाउने छैनन् । औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कुनै पनि व्यक्ति घर वाहिर निस्किन नपाउने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक काममा अनुमति लिएको अवस्थामा बाहेक सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्वुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं प्रवेश गर्न दिइने छैन ।