राष्ट्रियसभा सदस्य निर्वाचनः प्रदेश निर्वाचन कार्यालय स्थापित

  • 15
    Shares
राष्ट्रियसभा सदस्य निर्वाचनः प्रदेश निर्वाचन कार्यालय स्थापित

मकवानपुर, १८ वैशाख । वाग्मती प्रदेश, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका –४ जिल्ला निर्वाचन कार्यालय भवनमा आज प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले प्रदेश निर्वाचन कार्यालयको आज शुभारम्भ गर्नुभयो ।

उहाँले यही वैशाख २१ गतेदेखि राष्ट्रियसभा सदस्य एक पदमा हुने निर्वाचन क्रममा यहाँ मतदाता नामावली प्रकाशन तथा नाममा संशोधन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाउनुभयो ।

आगामी जेठ ६ गते रिक्त राष्ट्रियसभा सदस्यमा निर्वाचन हुँदै छ । स्थानीय भुटनदेवी माविको भवनमा दुई मतदान केन्द्र स्थापना गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख अधिकृत गोविन्दप्रसाद पौडेलले निर्वाचनमा वाग्मती प्रदेशसभाका सदस्य ११० र प्रदेशका १३ वटै जिल्लाका ११९ स्थानीय तहका प्रमुख/उपप्रमुख २३८ गरी कूल ३४८ मतदाता रहेको जानकारी दिनुभयो ।

तत्कालीन राष्ट्रियसभा सदस्य रामबहादुर थापा सदस्यबाट मुक्त भएपछि निर्वाचन प्रक्रिया शुरु गरिएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार वैशाख अन्तिम सातासम्ममा निर्वाचन आयोग काठमाडाँैंबाट मतपत्र प्राप्त हुने छ ।