पर्सामा कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

  • 4
    Shares
पर्सामा कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

पर्सा, ७ वैशाख।कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४ बहुवरी निवासी ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी बयोधा अस्पतालमा आज बिहान १२ः४५ बजे उपचारका क्रमम मृत्यु भएको हो ।

भारतबाट फर्किएलगत्तै बिरामी भएका पुरुषलाई उपचारका लागि चैत २९ गते अस्पताल भर्ना गरिएको र सोही दिन उनको आरडिटी पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी दिनुभयो । उहाँले श्वाप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट मृतक ग्रस्त रहेको बताउनुभयो ।

बितेको एक साताभित्र पर्सामा चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै पर्सामा सङ्क्रमणकै कारण मृत्यु भएको सङ्ख्या ५८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।