नयाँ सरकार गठनका लागि सहमति जुटाउन काँग्रेस सहित तीन दलको बैठक

नयाँ सरकार गठनका लागि सहमति जुटाउन काँग्रेस सहित तीन दलको बैठक

काठमाडौँ, २७ चैत।नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि सहमति जुटाउन तीन दलको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि सभापति शेर बहादुर देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाउनुभएको हो ।

देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने तीन दलको तयारी छ । तर, सत्ता समिकरणमा निर्णायक शक्ति बनेको जसपाले भने नयाँ सरकारबारे खासै चासो राखेको छैन । जसपा भित्रका महन्थ ठाकुर र राजेन्द्र महतो केपि ओली नेतृत्वको सरकारमा जाने गरी छलफल चलाईरहेका छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नयाँ सरकार गठनमा चासो राखिरहेका छन् । जसपाभित्रको आन्तरिक विवादका कारण मुलुकको राजनीतिले सही दिशा लिन सकेको छैन ।

यस्तै, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । काँग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।