प्रतिनिधिसभाको बैठक आज बस्दै, सूचना प्रविधि सम्बन्धी विधेयक पेस हुने

प्रतिनिधिसभाको बैठक आज बस्दै, सूचना प्रविधि सम्बन्धी विधेयक पेस हुने

काठमाडौँ,२६चैत।प्रतिनिधिसभाको बैठक आज बस्न लागेको छ । दिउँसो १ बजे बस्ने बैठकमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुनेछ ।

संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन आज प्रतिनिधिसभा बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । १३ पुस २०७६ मा संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो । विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले पास भएकै विधेयक संसदमा पेस हुने बताउनुभयो । यसअघि समितिबाट पास भएको विधेयकमा काँग्रेसको मत समेटिएको थिएन । आफ्नो मत बिनै पास हुन लागेको विधेयक विवादास्पद रहेको भन्दै काँग्रेसले आज त्यसमा बहस गर्ने भएको छ । समितिबाट पारित भएको विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पनि पारित भइ अगाडि बढे नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित र मौलिक अधिकार हनन हुने सांसद रामबहादुर विष्टको भनाइ छ ।

आज संसदमा पेस हुन लागेको विधेयकको प्रतिवेदनमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्पेषण गर्न बन्देज लगाइने उल्लेख छ । अन्यथा पाँच वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने जस्ता कडा प्रावधान राखिएका छन् । विधेयकको प्रतिवेदन अनुसार राष्ट्रिय एकता र स्वाधीनतामा खलल पुग्ने विषय सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा र सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउँदा ५ वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने लगायतका व्यवस्था गरिएको छ ।