आज पापमोचनी एकादशीव्रत, हेर्नुहोस् आजको दिन २०७७ चैत्र २६ गते

  • 67
    Shares
आज पापमोचनी एकादशीव्रत, हेर्नुहोस् आजको दिन २०७७ चैत्र २६ गते

-उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्-

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, चैत्र महिनाको २६ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अप्रिल महिनाको ८ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्रकृष्णपक्षको द्वादशी तिथि बिहानका राति ४।३७ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । शतभिषा नक्षत्र अहोरात्र रहनेछन् । यसैगरी आज शुभ योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।४९ मा छ भने सूर्यास्त बेलुका ६।४० बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा रहेका छन् ।

आज वैष्णवको पापमोचनी एकादशीव्रत परेको छ । सम्पूर्ण पापबाट मुक्तिका निम्ति पापमोचिनी एकादशी उत्तम मानिन्छ । यसैगरी एकादशी विष्णु भगवान्को उपासना गर्ने उत्तम दिन हो ।