तेजाब तथा घातक रासायनिक पदार्थ बिक्रि वितरणमा कडाई

  • 17
    Shares
तेजाब तथा घातक रासायनिक पदार्थ बिक्रि वितरणमा कडाई

काठमाडौं, २३ चैत । सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ बिक्रिवितरणमा कडाईं गर्ने भएको छ । गृह मन्त्रालयले तेजाब तथा अन्य घातक रासायकि पदार्थ खपत गर्ने उद्योगलाई ७ दिनभित्र वार्षिक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

हिजो मन्त्रालयले सूचना जारी गर्दै देशभरका उद्योगलाई तेजाब तथा अन्य घातक रासायनिक पदार्थको खपत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्रालयले नेपाल सरकारबाट तेजाब तथा अन्य घातक रासायकि पदार्थ (नियमन) नियमावली, २०७७ स्वीकृत भई नियमावलीको नियम ५ (२) मा प्रचलित कानून बमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको हुँदा अबदेखि कसैले पनि तेजाब वा घातक रासायनिक पदार्थको खरिद बिक्रि गर्नका लागि स्विकृति लिनु पर्ने बताएको छ ।

नियमावलीको अनुसूची ८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिएर औद्योगिक प्रयोजन वा के का लागि तेजाब वा घातक रासायनिक पदार्थ खरिद गर्न लागिएको हो सोको जानकारीसहितको निवेदन पेश गरेर मात्रै खरिद बिक्रि गर्न पाउने सूचनामा उल्लेख गरिएको छ ।

यस्तै आ–आफ्नो उद्योगमा वार्षिक स्किमअनुसार के कति परिमाणमा के कस्तो रसायन आवश्यक पर्दछ सो को नियमानुसारको स्पष्ट विवरण पनि ७ दिनभित्र पेश गर्न मन्त्रालयले निर्देशन दिएको छ । यसअघि खुला रुपमा तेजाब तथा घातक रासायनिक पदार्थको बिक्रि वितरण हुँदा महिला तथा पुरुषहरुमाथि हिंसा बढेको थियो । सरकारले यस्ता हिंसा न्यूनिकरणका लागि यस्तो कडाई गरेको हो ।