काठमाडौं उपत्यकामा चिसोसँगै प्रदूषण बढ्यो

  • 44
    Shares
काठमाडौं उपत्यकामा चिसोसँगै प्रदूषण बढ्यो

काठमाडौं, २३ चैत । काठमाडौं उपत्यकामा एक्कासि चिसोसँगै प्रदूषण बढेको छ । मौसम पूर्वानुमान महाशाखाले तुवाँलोका कारण काठमाडौं उपत्यकामा चिसो बढेको बताएको छ । मौसमविद्काअनुसार अहिले वायु मण्डल स्थिर रहेको हुँदा बिहानै पनि तुवाँलोजस्तो देखिएकाले चिसो बढेको हो ।

आगामी दुई तीन दिनसम्म यस्तै अवस्था रहने भएकाले सावधानी अपनाउन मौसमविद्ले सबैलाई आग्रह गरेका छन् । सापेक्षिक आर्द्रता एकदमै कम हुनुलाई तुवाँलो भनिने हो । बिहानै भए पनि तुवाँलोजस्तै देखिएको छ ।

चैत महिनामा हुनुपर्ने गड्याङगुडुङ, हावाहारी र वर्षा नहुँदा उपत्यकाजस्ता देशका अन्य स्थानमा पनि तुवाँलो लाग्ने अवस्था आएको र यसबाट वायु प्रदूषण पनि बढेको बताइएको छ । दिउँसो थोरै घाम लागे पनि तुवाँलो पूरै हट्ने अवस्था नदेखिएको पनि महाशाखाले अनुमान गरेको छ । केही दिनयता देशभर वायु प्रदूषण बढेकाले सजगता अपनाउन यसअघि नै स्वास्थ्य मन्त्रालय, वातावरण विभागलगायत विज्ञले सुझाव दिइसकेका छन् ।