संवैधानिक भूमिका निर्वाह गरेकोमा प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई धन्यवाद

संवैधानिक भूमिका निर्वाह गरेकोमा प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई धन्यवाद

संसद्को अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान निर्माणमा भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद् दिएका छन् । जनताको हातबाटै नेपालको संविधान निर्माण गर्ने बिपी, गणेशमान पुष्पलाललगायत अग्रज नेताको सपना पूरा भएको उनले बताए ।

सुशील कोइरालाको प्रधानमन्त्रीत्वमा गणतन्त्र, बहुलवादमा आधारित लोकतन्त्रसहितको संविधान निर्माण गर्न सफल भएकोमा नेपाली कांग्रेसले गौरव अनुभूति गरेको प्रधानमन्त्रीको भनाइ थियो । आफू नेतृत्वको सरकारले स्थानीय तहको दोस्रो र तेस्रो चरणको निर्वाचन सम्पन्न गराएको र मधेशी दलहरूको मागलाई सम्बोधन गर्दै संविधान संशोधन गर्न खोज्दा पनि विविध कारणले सम्भव नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति थियो । संविधानलाई सर्वस्वीकार्य बनाउन आफू र आफ्नो दल नेपाली कांग्रेस प्रतिबद्ध रहेको उनले बताए ।

मन्त्रीपरिषद् विस्तारका सम्बन्धमा एमालेले राष्ट्रपतिलाई उचाल्न खोजेको भए पनि राष्ट्रपतिले संवैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गरेकोमा प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गरे । ‘पहिले राजालाई यसरी नै उचाल्ने गरिन्थ्यो उनी उचालिन्थे तर, राष्ट्रपति उचालिनुभएन, उहाँप्रति म र मेरो पार्टी धेरैधेरै धन्यवाद दिन चाहन्छौँ,’ प्रधानमन्त्रीले भने ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मन्त्रिपरिषद्को विस्तारले निर्वाचनमा कुनै असर नपर्ने बताएको र मन्त्रिपरिषद्को संख्या केही दिनमा घट्न पनि सक्ने भएकाले यसप्रति धेरै कटाक्ष नगर्न देउवाले विपक्षी दललाई आग्रह गरे ।

राप्रपाले सरकारलाई समर्थन दिएको चार दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । सोमबार सरकारलाई समर्थनको पत्र पठाएको राप्रपाबाट अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित चार मन्त्री र चार राज्यमन्त्री थपिएका हुन् ।

कतिपय विपक्षीहरूले सरकार विस्तारको विरोध गरेको भए पनि सरकारले भने मन्त्रिपरिषद् विस्तार हुँदैमा निर्वाचनप्रति आशंका नगर्न प्रतिपक्षलाई आग्रह गरेको छ । आशंकाभन्दा निर्वाचनमा सबै दल केन्द्रित भएर निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न एक मन्त्रीले आग्रह गरे ।

उपप्रधानमन्त्री थापासहित सबै मन्त्री विनाविभागीय छन् । राप्रपाबाट मन्त्रीमा जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा छन् । राज्यमन्त्रीमा कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई नियुक्त भएका छन् ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिपक्षसँगको गठबन्धनपछि सरकारबाट फिर्ता हुन अनौपचारिक छलफलमा आग्रह गर्दै आएका थिए । तर, माओवादी केन्द्र सरकारबाट बाहिरिने कुनै गुन्जायस छैन । यद्यपि, माओवादीले लिएकै मन्त्रालय राप्रपालाई दिने गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका कारण माओवादीलाई सरकारबाट बाहिरिन दबाब परेको छ ।

माओवादी सरकारबाट नहटेमा माओवादीका तर्फबाट मन्त्री भएकालाई विनाविभागीयमा लगेर राप्रपाका मन्त्रीलाई मन्त्रालय तोक्ने गरी मन्त्रालय हेरफेर गर्ने सम्भावना छ । राप्रपा अध्यक्ष कमल थापालाई गृहमन्त्रालयको जिम्मेवारी तोक्ने सम्भावना छ ।

यसअघि आजै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसहितलाई मन्त्री बनाउने आशंका गरिएको भए पनि त्यो भएन । यता, माओवादीले सरकार छाड्ने विषयमा कुनै निर्णय नगरिसकेको तर सल्लाह गरेर सरकारबाट बाहिरिन सक्ने माओवादीका एक नेताले बताएका छन् ।