काठमाडौं । जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपाल पुपुवा न्यु गिनीसँग भिड्दै छ । सो खेल नेपाली समय अनुसार दिउसोको १.१५ बजे सुरु हुने छ ।
सोमबार हङकङ विरुद्धको जितसँगै नेपाल समूह ‘बि’ को चौथो स्थानमा उक्लिन सफल भएको हो । अर्को तर्फ पपुवा न्यु गिनी जितविहिन रहेर समूह ‘ए’ को अन्तिम स्थानमा रह्यो । आजको यस खेलको विजेताले नेदरल्यान्ड्स र हङकङ बीचको खेलको विजेतासँग सातौं स्थानको लागि खेल्ने छ ।
नेपालको विश्वकप सम्भावना समाप्त भए पनि अब नेपालको आशा एक दिवसीय मान्यता प्राप्त गर्नु हो । प्रतियोगिताका शीर्ष ३ एक दिवसीय मान्यता प्राप्त नभएको राष्ट्रहरुले सो मान्यता प्राप्त गर्ने छन् । सुपर सिक्समा प्रवेश गर्न सफल स्कटल्यान्ड र युएईले तीनमध्ये दुई स्थान ओगटिसकेका छन् । अब नेपाल, पपुवा न्यु गिनी र हङकङमध्ये अग्रस्थानमा रहने टोलीले एक दिवसीय मान्यता प्राप्त गर्ने छ । नेदरल्यान्ड्सले यस अघि नै एक दिवसीय मान्यता प्राप्त गरिसकेको छ ।
आज नेपाल र नेदरल्यान्ड्सले आ-आफ्नो खेल जिते नेपालको एक दिवसीय मान्यता सुनिश्चित हुने छ । त्यस्तै आज नेपालले खेल हारेमा सो मान्यता पाउने मौका नेपालले गुमाउने छ । अर्को तर्फ, नेपालले आज खेल जिते र हङकङले नेदरल्यान्ड्सलाई पराजित गरे सातौं स्थानको प्ले-अफका लागि नेपालले फेरि हङकङलाई हराउनै पर्ने हुन्छ ।
नेपालले हङकङ विरुद्धको टोलीलाई नै आज निरन्तरता दिने देखिएको छ । नेपालका मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर ह्यामस्ट्रिङमा चोटका कारण पछिल्ला दुई खेल गुमाएका थिए । उनको चोट निको भए उनले टोलीमा स्थान पाउने छन् र अघिल्लो खेलभन्दा ब्याटिङक्रममा केहि फेरबदल हुने छ । पपुवा न्यु गिनीविरुद्ध पछिल्ला दुई खेलमा भने नेपालले पराजय भोगेको छ ।
-हाम्रो खेलकुदबाट