‘नाई नभन्नु ल’ काे छैटौं सिरिज निर्माण हुने, अभिनेत्रीको खोजी

‘नाई नभन्नु ल’ काे छैटौं सिरिज निर्माण हुने, अभिनेत्रीको खोजी

एजेन्सी । सफल चलचित्र ‘नाई नभन्नु ल’ को छैटौं सिरिज पनि निर्माण हुने भएको छ । जेठबाट छायांकन सुरु हुने चलचित्रको निर्देशक विकाशराज आचार्य र सामिप्यराज तिमल्सिनाले मिलेर स्क्रिप्ट तयार पारेका छन् । चलचित्रमा केही कलाकारहरु समेत अनुबन्ध भइसकेका छन् । अनुभव रेग्मी, सेड्रिना शर्मा र सलोन बस्नेतको अभिनय रहने चलचित्रका लागि अहिले निर्माण टिम लिड अभिनेत्रीको खोजीमा छ ।

पहिला चलचित्रका लागि लिड अभिनेत्रीको प्रस्ताव ‘नाई नभन्नु ल ४’ मा अभिनय गरिसकेकी वर्षा राउतलाई गरिएको थियो । निर्देशक आचार्यसँग उनको मौखिक सहमति समेत भइसकेको थियो । तर, छैटौं सिरिजमा चौथो सिरिजको क्लाइमेक्सको दृश्यहरु पनि समावेश हुने भएपछि उनी चलचित्रमा नहुने भएकी छन् । यतिबेला निर्माण टिमले अरु अभिनेत्रीसँग कुरा गरिरहेको छ ।

‘नाई नभन्नु ल ५’ मा बाल कलाकारको रुपमा अभिनय गरेकी सेड्रिना ठूली भएपछिको भूमिकाका लागि अभिनेत्री चाहिएको लेखक तिमल्सिनाले बताए । उनले भने- ‘सेड्रिना ठूली भएपछिको भूमिकामा अभिनय गर्न उनीसँग अनुहार मिल्ने कलाकार चाहिएको हो । केही अभिनेत्रीसँग कुरा भइरहेको छ । चाँडै खुसीको खबर सुन्न पाइएला ।’ चलचित्रलाई विकास आचार्य स्वयंले निर्माण गर्नेछन् ।