चिल जस्तै आकाशमा उड्दा …

चिल जस्तै आकाशमा उड्दा …

गुल्मी, १ चैत।आकाशमा मानिस पनि चिल जस्तै सजिलैसँग उडेको देख्दा धेरै मानिस आफँैमा दङ्ग परेका थिए । कतिपयत हतारहतार गर्दै घरको काम छाडेर मानिस कसरी उड्दा रहेछन् भनी एकोहोरो आकाशमा हेरिरहेका हुन्थे । कतिपयलाई यसरी आकाशमा उड्न सकिन्छ भन्ने कल्पनासम्म थिएन ।

मालिका गाउँपालिकामा १५ दिनसम्म आयोजना गरिएको मालिका प्याराग्लाइडिङ महोत्सवले यतिबेला सबैको मन लोभ्याइदिएको छ । मनमा रहर हुँदाहुँदै यही मनभित्रबाट निस्केको डरका कारण धेरै व्यक्तिले गाउँमै आएको अवसर गुमाउनु परेकामा पछुतोसमेत माने ।

गाउँपालिका उपाध्यक्ष देवा अर्यालले पनि प्याराग्लाइडिङ गर्ने अवसर जु¥र्याे । “शुरुमा त मनमा कताकता डर लागेको थियो । धेरै जना उडेको देख्दा मनको डर पनि विस्तारै हराउँदै गयो र मैले पनि उड्ने निधो गरँे”, उहाँले भन्नु भयो । आकाशमा चरा जस्तै उड्दै गर्दा उनले नजिकवाट सुन्दर पाखापखेरा र डाँडाकाँडा देख्दा निकै रमाईलो लागेको उहाँले अनुभव सुनाउनुभयो ।

मालिकाले पर्यटन विकास र पर्यटकीय गन्तव्यको खोजीमा टेवा पु¥याउने उद्देश्यले अर्खाबाङ र सिमलटारी बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा ८६ उडान गरिएको थियो । गत मङ्सिर अन्तिम साता स्काइ लाइन प्याराग्लाइडिङ पोखराको टोलीमार्फत मालिकाको आयोजनामा स्थानीय देउराली डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएकोे थियो । स्काइ लाइन प्याराग्लाइडिङका सञ्चालक तथा पाइलट भुवन गाहाले मालिका व्यावसायिक प्याराग्लाइडिङको हिसाबले पोखराको विकल्प बन्नसक्ने जानकारी दिनुभयो ।

भौगोलिक दृष्टिकोणले मालिका विकट जस्तो भए पनि त्यही विकटलाई निकट बनाउने लिगलिगे डौडमा गाउँपालिका यतिबेला विस्तारै अघि बढिरहेको छ । पर्यटकीय क्षेत्रका हिसाबले पर्यटनको प्रचूर सम्भावना रहेको मालिका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पार्नका लागि गाउँपालिकाले पनि पर्यटकीय क्षेत्रको विकासमा जोड दिँदै आएको छ । गाउँपालिका अध्यक्ष रितबहादुर थापाले सम्भाव्यता अध्ययनसहित १५ दिने महोत्सवमार्फत मालिका प्याराग्लाइडिङको हिसाबले एउटा व्यावसायिक केन्द्र बन्नसक्ने बताउनुभयो । उहाँले गाउँपालिकाकोतर्फबाट आगामी दिनमा थप सहयोग र निरन्तरताका लागि पहल गर्ने जानकारीदिनुभयो । बाह्य पर्यटकले लामो दूरीमा प्याराग्लाइडिङ गर्न मन पराउने भएका कारण मालिका प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्य हुनसक्ने गाउँपालिकाले जनाएको छ ।

बजार र व्यवसायीलाई उत्साह थप्न गाउँपालिकाकोतर्फबाट ४० प्रतिशत र बजार व्यवस्थापन समितिको ६० प्रतिशत लगानी गरेर प्याराग्लाइडिङ महोत्सव सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताउनुभयो । गाउँपालिका आफैँले महोत्सव सञ्चालन नगरे पनि स्थानीय सङ्घसंस्थाले गरेका कार्यक्रममा समन्वय र सहकार्य गर्दै जाने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयो ।रासस