अन्ततः नेकपा एमाले विभाजनको संघारमा !

अन्ततः नेकपा एमाले विभाजनको संघारमा !

काठमाडौं, १ चैत । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ । पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र यो बीचमा पार्टी अध्यक्ष केपी ओलीले गरेको व्यवहारको आधारमा एमाले पार्टी थप एक भएर जान नसक्ने नेपाल पक्षले ठहर गरेको छ ।

हिजो बसेको नेपाल पक्षको संसद सहितको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हिजो चालेको कदमपछि उत्पन्न परिस्थितिका विषयमा छलफल भएको थियो । छलफलका क्रममा नेपाल पक्षका सांसदसहित केन्द्रीय सदस्यहरुले ओली प्रवृत्तिविरुद्ध लड्न आफूहरु तयार रहेको भन्दै सांसद पद गुमे पनि केही फरक नपर्ने धारणा राखेका थिए । अध्यक्ष ओलीले आफू पक्षीय नेताहरुलाई पदबाट हटाउँदै कमिटीहरु विस्तार गरेपछि नेपाल पक्षले पनि समानान्तर कमिटी बनाएको छ ।

नेपाल पक्षले संयोजकका रुपमा प्रदेश १ मा भीम आचार्य, २ मा घनश्याम भुसाल, बाग्मतीमा अष्टलक्ष्मी शाक्य र गण्डकीमा सुरेन्द्र पाण्डेलाई जिम्मेबारी दिएको छ । लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीले पाउनुभएको छ भने सुदुरपश्चिम प्रदेशको जिम्मा भीम रावललाई दिइएको छ । युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई र महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई दिएको नेता भीम रावलले जानकारी दिनुभयो ।

यसैबीच, प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने पार्टीको आगामी बैठकमा अनुपस्थित हुनेलाई कारबाही गर्ने चेतावनी दिदै चैत ७ गतेको बैठकमा उपस्थित हुन भन्नुभएको छ । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना गरेको १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल पक्षीय नेताहरूलाई बैठकमा नआए पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो ।