नयाँ सरकारका लागि काँग्रेस र जसपाबाट प्रधानमन्त्री बनाउनेबारे छलफल

नयाँ सरकारका लागि काँग्रेस र जसपाबाट प्रधानमन्त्री बनाउनेबारे छलफल

काठमाडौँ, २९फागुन ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी (जसपा) का शीर्ष नेताबीच नयाँ सरकार बनाउने बारेमा छलफल भएको छ ।

सम्भावित सत्ता समीकरणबारे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा नेताहरुबीच हिजो छलफल भएको हो । जसपाबाट बाबुराम भट्टराई , महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो र काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायत बैठकमा सहभागी हुनुभएको थियो । सत्ता सहकार्यका लागि जसपाले रेशम चौधरीको मुद्दा फिर्ता–रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका शर्त राख्दै आएको छ ।

जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गर्ने दाबी गरेको छ । जसपाका नेताहरु आफूहरु सधँै अरुको सहयोगीको भूमिकाको रुपमा नबस्ने बताउन थालेका छन् । जसपाको संसदीय दलको हिजोको बैठकमा समसामयीक राजनितिको बारेमा छलफल भएको थियो । अबको सरकारको नेतृत्व आफ्नै पार्टीले लिने बारेमा पनि कुराकानी भएको नेता राजकिशोर यादवले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस भित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने नयाँ सरकार गठनका लागि पार्टीले नै नेतृत्व लिनु पर्ने निष्कर्ष निकालेको छ । महामन्त्री डा. शशांक कोइरालाको निवासमा बसेको सो समूहको बैठकले प्रधानमन्त्रीबाट केपी ओलीलाई बिदा गरेर आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने र सरकारको नेतृत्व सभापति देउवाले नै गर्ने गरी वातावरण बनाउने निष्कर्ष निकालेको हो । बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्य दलहरूसँग समेत छलफल गरेर पार्टीले नेतृत्व लिने गरी अघि बढ्ने जानकारी दिनुभएको छ ।