विराटनगर : करोडौं रुपैयाँ राजस्व अपचलन गरिएको घटनामा संलग्न विराटनगर भन्सार कार्यालयका दुई एजेन्टलाई सोमबार निलम्बन गरिएको छ।बैंकका कर्मचारीसँग मिलेर भन्सारको नौ करोड ६१ लाख ५५ हजार रुपैयाँ राजस्व अपचलनमा भन्सार एजेन्ट विराटनगर-७ का ४६ वर्षीय सुरेश बोहरा र ललित बोहराको प्रत्यक्ष संलग्नता पुष्टि भएपछि उनीहरू निलम्बनमा परेका हुन्।
एजेन्ट र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको मिलेमतोमा भएको राजस्व हिनामिना घटनामा प्रहरीले मुद्दा अघि बढाएको थियो। कार्यालयका तर्फबाट दुवै एजेन्टमाथि निलम्बन गरेर कारबाहीका लागि थप अनुसन्धान अघि बढाइएको भन्सार प्रमुख मिमांश अधिकारीले जानकारी दिए।
एजेन्टलाई भन्सार ऐनअनुसार निलम्बन गरिएको जानकारी दिँदै उनले भने,‘राजस्व अपचलन प्रकरणपछि एजेन्टहरू भन्सारको सम्पर्कमा छैनन्। धेरै व्यापारिक घरनाका सामान जाँचपासको जिम्मा लिएर जिम्मेवारी पूरा नगरी उनीहरू फरार भएका कारण यसअघि नै १५ दिने म्याद जारी गरेर स्पष्टीकरण सोधिएको थियो।
स्पष्टीकरण सम्बन्धित व्यक्ति नभेटिएको भनेर भन्सार कार्यालयमै फिर्ता आएकाले निलम्बन गरिएको उनले बताए। पत्र नभेटिएको भन्दै आइतबार हुलाकमार्फत फिर्ता आएको थियो।
दुवै एजेन्ट माघ २८ गतेदेखि फरार छन्। सुरेश क्लियरिङ एन्ड फरवार्डिङ सर्भिस प्रोप्राइटरका नामबाट भन्सारमा सामान जाँचपास एवं क्लियरिङको काम गर्थे। भन्सारले दुवैको कारोबार रोक्का गरेको छ।
‘कारोबार रोक्का गरिएको सहितको १५ दिने सूचना पनि जारी गर्दै स्पष्टीकरण सोधिएको थियो’, अधिकारीले भने, ‘म्याद सकिँदा पनि स्पष्टीकरण नै नआएपछि भन्सारले आफ्नो कारबाही अघि बढाएको हो।’ यही घटनामा संलग्न भएको भन्दै मोरङ प्रहरीले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सुख्खा बन्दरगाहा भन्सारका काउन्टर इन्चार्ज वरिष्ठ सहायक तोर्णराज राउत र शाखा प्रबन्धक विष्णुप्रसाद निरौलालाई पक्राउ गरेर बैंकिङ कसुर र सजाय ऐन २०६४ बमोजिम मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।
दुवै कर्मचारीले एजेन्टसँग मिलेर राजस्व हिनामिना गर्दै बैंकलाई हानि नोक्सानी पु¥याउने काम गरेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए। भन्सार कार्यालयको प्रज्ञापनपत्रबमोजिम राजस्व रकम क्लियरिङ प्रयोजनार्थ भन्सारको खातामा जम्मा गरेर बैंकले भन्सार तिरेको रिसिप्ट दिनुपर्छ। तर, मिलेमतोमा एजेन्टले एकाउन्ट पेयी चेक दिएर बारम्बार बाउन्स भए पनि बैंक कर्मचारीले भन्सारमा भने रिसिप्ट दिने गरेको पाइएको हो। पैसा नभएको खाताको चेक दिँदा पनि वाणिज्य बैंकका कर्मचारीले त्यसलाई नबुझी सहज रुपमा लिएर क्लियरेन्स रिसिप्ट भन्सार एजेन्टलाई दिने गरेका थिए।
भन्सारको खातामा दाखिला हुनुपर्ने राजस्व दाखिला नगरी बैंकका कर्मचारी र भन्सार एजेन्टले मिलेर राजस्व अपचलन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। भारत र तेस्रो मुलुकबाट आयात भएका सामान जाँचपासका क्रममा वाणिज्य बैंकका कर्मचारीले भन्सार क्लियरेन्स रिसिप्ट भन्सार एजेन्टलाई दिएको र एजेन्टले बैंकका कर्मचारीलाई उपलब्ध गराएको चेकमा पर्याप्त रकम नभएको पाइएको छ।
एजेन्टले विभिन्न बैंकको आठ वटा चेक दिए पनि एजेन्टका खातामा पर्याप्त रकम छ कि छैन्न भन्ने विषयमा नबुझी वाणिज्य बैंकका कर्मचारीले एजेन्टलाई क्लियरेन्स रिसिप्ट दिएका कारण घटनामा बैंकका कर्मचारीको संलग्नता देखिएको थियो।
पुस ९ गतेदेखि माघ १९ गतेसम्म १८ करोड ४० लाख ४४ हजार सात सय ६५ रुपैयाँको कारोबार भएकोमा नौ करोड ६१ लाख ५५ हजार रुपैयाँ अपचलन हुँदा बैंकलाई नोक्सानी भएको हो।
राजस्व अपचलनमा प्रहरीले कारबाही अघि बढाइरहेको बताउँदै भन्सार प्रमुख अधिकारीले धेरै कामको जिम्मा लिएर एजेन्टहरू सम्पर्कविहीन भएको विषयमा मात्रै भन्सारले चासो राखेको जानकारी दिए। अधिकारीले सामान आयात र निर्यातकर्ताले आफूहरूको कामको जिम्मेवारी लिएर एजेन्ट फरार भएको जानकारी भन्सारमा गराएको र जिम्मेवारी पूरा नगरेको हिसाबबाट एजेन्टमाथि कारबाही अघि बढाइएको बताए।
आयात निर्यातकर्ताको सामान घोषणा गरे पनि जाँचपास प्रक्रिया अघि नबढाई एजेन्ट फरार भएको भन्दै आठ वटा कम्पनी र व्यावसायिक घरनाबाट भन्सार निवेदन परेको भन्सार कार्यालयले जनाएको छ। -अन्नपूर्ण पोष्टबाट