काठमाडौँ, २९ फागुन । संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि पनि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचित हुनुभएकाे छ ।
वर्तमान राष्ट्रपति भण्डारीसँगै नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा हुनुहुन्थ्याे । अघिल्लो पटक र यसपटक पनि नेकपा (एमाले) को समर्थनमा उम्मेदवार बन्नुभएका राष्ट्रपति भण्डारीलाई यसपटक वाम गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का साथै संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले पनि मत दिए ।
वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित हुनुभएकाे छ । भण्डारीले ३९ हजार २७५ मतभार पाउनुभयाे भने राईले ११७३० मतभार पाउनुभयाे ।
भण्डारीलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । राईलाई भने ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् ।निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् ।
संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन्, जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए । संघीय संसदको एक सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सांसदको मतभार ४८ छ ।