नेकपा नामको फैसला सर्‍यो, आज देशभरका अदालत बिदा

  • 1
    Share
नेकपा नामको फैसला सर्‍यो, आज देशभरका अदालत बिदा

काठमाडौं, २० फागुन । आज देशभरका अदालतहरुमा शोक बिदा दिइएको छ । र्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । पूर्वप्रधानन्यायाधीश सिंहको मंगलवार साँझ निधन भएको थियो । सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मेका सिंह, २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त हुनु भएको थियो ।

यसैबीच, सर्वोच्च अदालत आज विदा भएपछि नेकपा नामको विवादमा फैसला आउने मिति पनि पछि सरेको छ । यसअघि गत बिहीबार सर्वोच्च अदालतले आज अर्थात् फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।