भूगोल साहित्य समाजको प्रथम वार्षिक साधारणसभा सम्पन्न

भूगोल साहित्य समाजको प्रथम वार्षिक साधारणसभा सम्पन्न


काठमाडौँ, १७ फागुन।भूगोल साहित्य समाजको प्रथम वार्षिक साधारणसभा फागुन १७ गते सम्पन्न भएको छ ।

साधारणसभाले संस्थाको आर्थिक विवरण पारित गर्नुको साथै नयाँ कार्यसमिति चयन गरेको छ ।नयाँ कार्यसमितिको अध्यक्षमा विनोद नेपाल, उपाध्यक्षमा दिनेश विक्रम थापा, सचिवमा शैलेन्द्र कुमार शाह, कोषाध्यक्षमा हरिश्चन्द्र गौतम र सदस्यहरुमा वुध्दिराज पाण्डे, मुकुन्द अर्याल, नवराज पुडासैनी, उमेश तिमल्सिना र गुप्तबहादुर राना निर्बिरोध निर्वाचित हुनुभएको छ । पद्मा सापकोटालाई आमन्त्रित सदस्यमा मनोनयन गरिएको छ ।

राष्ट्रिय बाणिज्य बैंकका पूर्व नायव महाप्रबन्धक द्वय टेकराज जोशी र उद्धब खनालको विशिष्ट आतिथ्यता, राबाबैंक भूपू कर्मचारी संघका अध्यक्ष पुरुषोत्तम निरौलाको प्रमुख आतिथ्यता र अध्यक्ष विनोद नेपालको सभापतित्वमा सम्पन्न साधारणसभामा निर्वाचन अधिकृतको जिम्मेवारी अधिवक्ता बासुदेव खत्रीले पूरा गर्नुभएको थियो । दिनेश बिक्रम थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सभामा समाजका अध्यक्षबाट स्थापना कालदेखिका गतिविधिका साथै आगामी योजना बारे जानकारी गराइएको थियो ।

समाजले साधारणसभासँगै नवौं रचना वाचन श्रृङखला पनि सम्पन्न गरेको छ । जस अन्तर्गत कविहरु गोकुल अधिकारी, नवराज पुडासैनी, दिनेश बिक्रम थापा, शैलेन्द्र कुमार शाह, पद्मा सापकोटा, बुद्धिराज पाण्डे, हरिश्चन्द्र गौतम,महेश रिजाल र विनोद नेपालले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

भूगोल साहित्य समाज राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त कर्मचारीहरुद्वारा गत वर्ष गठित जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता भएको संस्था हो । दरबारमार्ग,काठमाडौमा कार्यालय रहेको संस्थाले द्वैमासिक रुपमा साहित्यिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।