गौतम बुद्ध रंगशाला ‘हाम्रो रंगशाला मेरो कुर्सी’ अभियान घोषणा

गौतम बुद्ध रंगशाला ‘हाम्रो रंगशाला मेरो कुर्सी’ अभियान घोषणा

काठमाडौँ, १७ फागुन। चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाईने भएको हो । फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै ुहाम्रो रंगशालामा मेरो कुर्सीु नामक अभियानको थालनी गर्दै उक्त जानकारी गराएको हो । तर, आफ्नो वा परिवारका सदस्यको नामको कुर्सी राख्न १ लाख फाउण्डेशनलाई सहयोग गर्नु पर्नेछ । फाउण्डेशनले रंगशाला निर्माणका लागि आर्थिक रकम जुटाउन उक्त अभियान थालेको हो । यस अभियानबाट ३ अर्ब संकलन हुने अनुमान गरिएको फाउण्डेशनले जनाएको छ ।

त्यस्तै रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गरिएको छ । फाउन्डेशनले डीपीआर अनुसार रंगशाला निर्माणको कुल लागत ३ अर्ब ५५ करोड रहेको जनाएको छ । तर, २०७७ सम्ममा ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैंया ८० पैसा मात्र आर्थिक संकलन भएको छ । जसमा ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैंया २३ पैसा खर्च भएको छ । रंगशाला निर्माणमा हालसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैंया ४३ पैसा ऋण रहेको फाउन्डेशनले जानकारी दिएको छ । रंगशाला निमार्ण कार्यमा मैदानको काम ८५ प्रतिशत सकिएको छ भने प्याराफिट तर्फको काम ३० प्रतिशत सम्पन्न भएको फाउन्डेशका अध्यक्ष सीताराम कट्टेलको जानकारी दिनुभयो ।

भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो । रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।