विपन्नको जीवनस्तर माथि उठाउन सहकारीले सघाउँदै

विपन्नको जीवनस्तर माथि उठाउन सहकारीले सघाउँदै

– राजेन्द्रप्रसाद पनेरु-

कञ्चनपुर, १५ फागुन । शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा रहेको नवीकरण बचत तथा ऋण सहकारी संस्थाले विपन्न सदस्यको जीवनस्तर माथि उठाउनका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरी रकम लगानी गर्दै आएको छ ।

सहकारीमा मुक्तकमैया, आरक्ष विस्थापित, गरीब तथा दलित समुदायका विपन्न व्यक्ति आबद्ध रहेका छन् । समूह जमानीका आधारमा सहकारीबाट व्यावसायिक तरकारीखेती, व्यापार र अन्य लघुउद्यम गर्न चाहने व्यक्तिलाई रु दुई लाखसम्मको रकम विनाधितो उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ ।

शुक्लाफाँटा र कृष्णपुर नगरपालिका कार्य क्षेत्र भएको सहकारीमा शुरुमा ५४ शेयर सदस्य रहेकामा त्यो सङ्ख्या बढेर हाल तीन हजार ६२२ पुगेको छ । जसमा महिला सदस्यको सङ्ख्या अधिक छ । महिला सदस्य दुई हजार ६४६ र पुरुष सदस्य ९७६ छन् ।

सहकारीमा आबद्ध अधिकांश शेयर सदस्य कृषि, व्यापार, कुखुरापालन, बङ्गुरपालन र अन्य परम्परागत सीपमा आधारित लघुउद्यम गर्दै आएको सहकारीका अध्यक्ष धनबहादुर कुश्मीले बताउनुभयो । उहाँका अनुसार सहकारीले आव २०७६÷७७ को असार मसान्तसम्म कृषिमा आबद्ध सदस्यलाई रु ८४ लाख ७८ हजार २५० रकम ऋणका रुपमा लगानी गरिएको छ ।

व्यापार ऋणमा रु ९२ लाख ४१ हजार २००, कुखुरापालनका लागि रु दुई लाख ५९ हजार ५५०, बङ्गुरपालनका लागि रु चार लाख ५९ हजार, शैक्षिक कर्जा रु तीन लाख १२ हजार ६५० र विपन्न परिवारलाई सुरक्षित आवास निर्माणका लागि रु १४ लाख १८ हजार रकम ऋणका रुपमा परिचालन गरिएको छ ।

आव ०७६÷७७ को पूरै अवधिमा सहकारीले रु नौ करोड ५७ लाख ७४ हजार ७६२ रकम लगानी गरेकामा सोमध्ये रु सात करोड ४९ लाख २३ हजार ६१२ रकम असुली गरिएको छ । हाल लगानीमा रहेको रकम रु दुई करोड आठ लाख ५१ हजार १५० लगानीमा रहेको छ । व्यापार ऋणमा १६ प्रतिशत र अन्यमा १५ प्रतिशत रकम सहकारीकाले ब्याजका रुपमा लिने गरेको छ ।

सहकारीको शेयर पूँजी रु ३१ लाख ५७ हजार ६०० रहेको छ । सहकारीमा आबद्ध सदस्यले रु ११ करोड ४६ लाख ७८ हजार ४२ रकम बचत गरेका छन् । पञ्चेवर्षीय रणनीतिक योजना बनाई सहकारीले सदस्यको जीवनस्तर माथि उठाउनका लागि विभिन्न सङ्घसंस्थासँग समन्वय गरी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

योजनाअन्तर्गत सहकारीमा आबद्ध सदस्यलाई तरकारीखेतीका माध्यमबाट आत्मनिर्भर बनाउनका लागि सहकारीले गाउँगाउँमा किसानका समूह गठन गरी कृषि प्राविधिक परिचालन गरी आधुनिक तरिकाले व्यावसायिक तरकारीखेती गर्नका लागि तालीमसँगै उन्नत जातको बीउ, रसायनिक मल, विषादी र सिँचाइको व्यवस्थाका लागि पम्पसेटमा अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।

शुक्लाफाँटामा ८०० र कृष्णपुरमा ८०० घरघुरी तरकारी खेतीमा संलग्न रहेका छन् । दुवै नगरपालिकामा गरी ६४ कृषक समूह गठन गरिएका छन् । “सहकारीबाट ऋण लिई तरकारीखेतीमा संलग्न रहेका सदस्यलाई किसान परियोजना २०० समन्वय गरी नर्सरी व्यवस्थापन तालीम १५०, आइपिएम तालीम ३२ र तरकारीमा जातीय प्रदर्शन ७५ वटा गरिएका छन्”, सहकारीका प्रबन्ध निर्देशक लक्ष्मी सेठीले भन्नुभयो, “मुसुरोखेती र धान खेतीका लागिसमेत तालीम प्रदान गरिएको छ ।”

सहकारीमा आबद्ध लघुउद्यम, व्यापार, तरकारीखेती र पशुपालनमा लागेका सदस्यको जोखिमलाई मध्यनजर गर्दै आउँदो आवमा कृषि तरकारी, पशुपालन तथा अन्य व्यवसायमा निर्जिवन बीमा गर्ने व्यवस्था मिलाउनका लागि कार्यक्रम अघि सारिएको छ । सहकारीले किसानले उत्पादन गरेको तरकारीलगायतका कृषिउपज खरीदका लागि तरकारी सङ्कलन तथा बिक्री केन्द्रसमेत सञ्चालन गरेको छ । रासस