घोडाघोडीका मेयरको कम्मर र खुट्टामा दुई गोली, उपचारका लागि नेपालगन्ज लगियो

घोडाघोडीका मेयरको कम्मर र खुट्टामा दुई गोली, उपचारका लागि नेपालगन्ज लगियो

धनगढी,  घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि उनको घर भित्रै पसेर गोली हानिएको छ । करिब १० जनाको समूहमा सोमबार साँझ आएकाहरुले मेयर चौधरीमाथि सुख्खडस्थित घरैमा उनको घरभित्रै छिरेर गोली हानेको हो ।

त्यो समूहकामध्ये चौधरीको घरमा छिरेका तीनजनामा दुईजनाले आक्रमण गरेका हुन् । घर भित्र बसिरहेका चौधरीमाथि एकले खुकुरी हाने भने अर्काले गोली प्रहार गरे । चौधरीको टाउकोमा खुकुरी हानिएको छ भने गोली खुट्टा र कम्मरमा लागेको छ । आक्रमणबाट घाइते भएका चौधरीलाई अहिले घोडाघोडी अस्पताल सुख्खडमा भर्ना गरिएको छ ।

उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार चौधरीको कम्मर र खुट्टामा दुईवटा गोली लागेको छ ।

घोडाघोडी अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । मेयरमाथि गोली हानिएपछि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरे घटनास्थलमा पुगिसेका छन् । घोडाघोडी धनगढीबाट करिब ५० किलोमिटरको दुरीमा रहेको छ ।

केही दिनअघि घोडाघोडी–५ की राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिट हुदा पीडकहरुलाई संरक्षण दिएको आरोप चौधरीमाथि लागेको थियो । त्यही घटनालाई लिएर चौधरीमाथि गोली हानिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

-शिवराज भट्टले लेखेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।