राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम दुई खेल हुँदै

राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम दुई खेल हुँदै

काठमाडौँ, ७ फागुन ।राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

पुलिस र चौदण्डीबीचको खेल बिहान १० बजे सुरु हुनेछ । पुलिस चौदण्डीलाई हराएर लिगको तेस्रो स्थान पक्का गर्न चाहन्छ । पुलिस ११ खेलमा १५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । अन्तिम खेलमा जित निकालेमा पुलिस तेस्रो स्थानमा रहनेछ । चौदण्डी भने अन्तिम खेलमा जित निकाल्न चाहन्छ । चौदण्डी ११ खेलमा अंक विहीन रहँदै पुछारमा रहेको छ । अर्को खेलमा च्याम्पियन बनिसकेको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । एपीएफ र आर्मीबीचको खेल दशरथ रंगशालामा अपरान्ह २ बजे सुरु हुनेछ । दुई खेल अगाबै च्याम्पियन बनिसकेको एपीएफ आर्मीलाई हराएर अपराजित रहँदै च्याम्पियन बन्न चाहन्छ ।

एपीएफले ११ खेलमा ३३ अंक जोडेको छ । आर्मी भने अन्तिम खेलमा जित निकाल्दै लिगको सुखद अन्त्य गर्न चाहन्छ । दोस्रो स्थान पक्का रहेको आर्मीको ११ खेलमा २६ अंक रहेको छ ।