मङ्गल र शनि एउटै राशिमा – के हुन्छ यसको प्रभाव ?

मङ्गल र शनि एउटै राशिमा – के हुन्छ यसको प्रभाव ?
-सहप्राध्यापक, कृष्णप्रसाद कोइराला-
आज म एउटा विशिष्ट ज्योतिषीय परिस्थितिको चर्चा गर्ने जमर्को गर्दैछु । फलित ज्योतिषमा खासगरी क्रूर ग्रहका रूपमा परिचित दुईवटा ग्रहहरू एउटै कोठामा यस पटक फाल्गुन २८ गतेदेखि आगामी वैशाख २६ गतेसम्म युतिसम्बन्ध बनाएर बस्दैछन् ।
ती दुईवटा ग्रहहरू हुन् मङ्गल र शनि । समयक्रममा प्रत्येक २ वा तीनवर्षको अन्तरालमा यस्तो संयोग भइरहेको हुन्छ । शनि कर्म, निष्ठा र न्याय सम्पादनका निमित्त प्रतिष्ठित ग्रह हो । शरीरमा शनिको श्रम, हड्डी, नसा, आन्तरिक ऊर्जा र जिम्मेबारीबोधमा अधिकार हुन्छ । शनिश्चर ग्रह गतवर्ष मंसिरदेखि नै धनुराशिको क्षेत्र वरपर भ्रमणशील छ । सामान्यतया एउटा राशिको क्षेत्रभित्र शनिश्चर ग्रहको ३० महिनाको अवधि (अढाइवर्ष) बसोबास हुने गर्दछ । त्यस्तै मङ्गल ग्रहले शरीरमा उत्साह, क्रोध, आत्मबल, स्वाभिमान, राष्ट्रभक्ति, अनुशासन, कम्मर, पिठ्युँ, दाँत आदिमा अधिकार जमाएको हुन्छ । यसको राशिचक्रको भ्रमण १८ महिनामा सकिन्छ र एउटा राशिमा यसको समय करिब ४५ दिनको हुने गर्दछ । धनुराशिमा अगाडिदेखि नै शनिको उपस्थिति त छँदैथियो, अहिले मङ्गल ग्रह पनि धनु राशिमा नै प्रवेश गरेको परिस्थिति छ । यी दुई ग्रहको महासंयोग हुनु फलितज्योतिषीहरूका नजरमा विशेष आकर्षणको समय मानिन्छ ।
फलित ज्योतिषमा गोचर कुण्डलीमा कुनै दुईवटा ग्रहको मिलन हुनुलाई विशेष अवस्थाका रूपमा वर्णन गरिएको पाइन्छ । उदाहरणका लागि शनि र राहुको मिलन हुनुलाई नागमणि योग भन्ने गरिन्छ । यस्तो परिस्थितिमा अन्तरिक्षमा पनि नकारात्मक प्रभाव पर्दछ, जसको प्रत्यक्ष र परोक्ष प्रभाव आमजनजीवनमा पनि हुने गर्दछ । ज्योतिषशास्त्रमा यस्तो परिस्थितिमा ग्रहयुद्ध, उल्कापात, वाहन दुर्घटना, विमान दुर्घटना, भूकम्प, भूस्खलन, शरीरमा चोटपटक आदि नराम्रो फल प्राप्त हुन्छ भनी उल्लेख गरिएको पाइन्छ । त्यस्तै शनि र केतुको युति सम्बन्ध हुँदा विस्फोट योगको सिर्जना हुन्छ, यस्तो परिस्थितिमा आँधीहुरी, ठूलठूला आगजनी, भयङ्कर बमबारी, युद्ध, आतंकवादी क्रियाकलापमा बृद्धि र बमविस्फोट हुन गई धेरै धनजनको क्षति हुने गर्दछ ।
यी दुबै परिस्थिति मङ्गल र शनिको मिलन हुँदा घटित हुन सक्ने आकलन ज्योतिषशास्त्रले गरेको पाइन्छ । मनुष्यहरूले दुर्घटनाजन्य प्रकोप र मृत्युतुल्य कष्ट सहनु पर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा कुनै ठूला व्यक्तित्वको निधन हुने, आतंकजन्य ठूलाठूला घटना हुन आदि योगको सिर्जना यस योगबाट उत्पन्न हुने गर्दछ । किनभने मङ्गल ग्रह आगोको कारक हो भने शनिश्चर पापकर्मको कारक हो । पाप र आगोको मिलन हुनु नै यस्ता विपरीत परिस्थितिको जनक बन्न पुग्दछ । आज म तपाईंलाई सावधान र सचेत बनाउन खोज्दैछु र मेष राशिदेखि मीन राशिसम्म भएका संसारभरिका मानिसहरूलाई यस संयोगले के दुस्प्रभाव प्रदान गर्न सक्दछ र त्यसबाट जोगिन के गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्ने जमर्को गर्दैछु ।
 
यसबाट आममानिसले सचेतता अपनाउने अवसर प्राप्त गर्नेछन् र यी विषयवस्तुहरू उपर विज्ञ ज्योतिषीहरूले आफ्ना अनुभव र दृष्टिकोणको सकारात्मक प्रयोग गरी यस विषयमा थप अनुसन्धान र विवेचना गर्नुहुनेछ भन्ने आशा लिएको छु । अब तपाईंको राशिअनुसार मङ्गल र शनिश्चरको यस युतिले तपाईंलाई कहाँ र जीवनको कुन आयाममा प्रभावित तुल्याउन सक्दछ ? यस विषयलाई ध्यानपूर्वक सुनेर त्यसलाई उपयोगसमेत गर्नुहुनेछ भन्ने विश्वास पनि गरेको छु । साथै मैले यहाँ बताएका कुरा तपाईंको जीवनमा घटित भएमा वा नभए पनि त्यसको जानकारी मैले प्राप्त गरेमा त्यसको थप अनुसन्धान र विश्लेषण गरी आम जनसमुदायको हितमा ज्योतिष विद्यालाई प्रयोग गर्न मलाई सघाउ पुग्ने आशा गरेको छु ।
म आज केही नकारात्मक सम्भाव्यतालाई मात्र बताउन गइरहेको छु । कतिपय व्यक्तिले ज्योतिषीहरूले डर र त्रास सिर्जना गरी व्यक्तिगत लाभ लिने गर्दछन् भन्ने गरेको पनि पाइन्छ । कतिपय ज्योतिषीले त्यसैलाई आफ्नो आजीविका र धनार्जनको विषय बनाई ठगी गरेका उदाहरण पनि भेटिन्छन्, पनि । तर म के अनुरोध गर्दछु भने ज्योतिष दैवी विषय हुँदाहुँदै पनि यो भौतिक जगतसँग सम्बद्ध विज्ञान पनि हो । त्यसैले फलादेश सुन्नुहोस्, जीवनमा ती घटना र अवसर आउँछन् वा आउँदैनन् विचार गर्नुहोस् र यदि तपाईंले कुनै लाभ वा हानि ब्यहोर्नु परेको छैन भने छलफल र चर्चाको विषय बनाउनु होस् । -ज्याेतिष साथीबाट