अहिले २०४८ सालको जस्तो प्रतिपक्ष बेहोर्न पर्दैन : कांग्रेस उपनेता गच्छदार

अहिले २०४८ सालको जस्तो प्रतिपक्ष बेहोर्न पर्दैन : कांग्रेस उपनेता गच्छदार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्री केपी ओलीलाई २०४८ सालको जस्तो प्रतिपक्षी भोग्न नपर्ने बताएका छन् । संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा विपक्षी दलको उपनेताको हैसियतमा संसदमा बोल्दै गच्छदारले नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिन नसक्ने भन्दै २०४८ सालको जस्तो प्रतिपक्ष बेहोर्न नपर्नेमा आश्वस्त बनाएका हुन् ।

२०४८ सालमा नेपाली कांग्रेसको बहुमतको सरकार भएका बेलामा नेकपा एमालेले सरकारलाई हनिमुन पिरियड पनि काम गर्न नदिई आन्दोलनमा उत्रिएको थियो । कर्मचारी आन्दोलन देखि बन्द हडताल तथा रेलिङ भाँच्ने संस्कृतिको सुरुवात त्यही समयमा भएको थियो ।

आज संसदको रोष्टममा उभिएर विपक्षी दलका उपनेता गच्छदारले २०४८ सालको संसदको स्मरण गराउदै भने–‘ २०४८ सालको संसदमा प्रतिपक्षको भुमिका जस्तो भुमिका अहिले हुँदैन् । त्यही भुमिकाका कारण आज मुलुक यो अवस्थामा आयो । त्यही भुमिका कारण मुलुक पछाडि प¥यो । अब मुलुक समृद्ध बनाउन छ । हामी रचनात्मक प्रतिपक्ष हुन्छौ ।’

उनले यो व्यवस्थालाई पूर्ण रुपमा सफल बनाउनका लागि पार्टीको स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए । गच्छदारले सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने र वाचडगको रुपमा नेपाली कांग्रेसले प्रतिपक्षको काम गर्ने बताए ।