नगरकोटबाट तरुण दलको घोषणा : सशक्त संगठन निर्माण

नगरकोटबाट तरुण दलको घोषणा : सशक्त संगठन निर्माण

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसका नेता तथा कार्यकर्ता संगठन निर्माणमा लागेका छन् । समानुपातिकमा कांग्रेसले सम्मानजक मत ल्याए पनि प्रत्यक्षमा कांग्रेसका ठूल्ठूला नेता पराजित भएपछि पार्टीका नेता कार्यकर्ता परिचालनमा सक्रिय भएका हुन् ।

पार्टीमा घात–अन्तर्घात भएको भन्दै आरोप–प्रत्यारोपमै सीमित भएका बेला नेपाल तरुण दलले भक्तपुरको नगरकोटमा तीन दिने राष्ट्रिय प्रशिक्षण भेला सम्पन्न गर्दै आगामी चैत तेस्रो सातादेखि देशव्यापी प्रशिक्षण अभियान सञ्चालन गरेर कार्यकर्तामा उत्साह ल्याउने उद्घोष गरेकोे छ ।

पचहत्तरै जिल्ला अध्यक्ष र विदेश शाखाका प्रतिनिधि भेलामा सहभागी भएको अध्यक्ष जितजंग बस्नेतले बताएका छन् । प्रशिक्षण भेलाको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गरेका थिए भने समापन नेता रामचन्द्र पौडेलले गरेका थिए । भेलामा अध्यक्ष र प्रतिनिधिलाई नेता कृष्णप्रसाद सिटौला, प्रदीप गिरि, बालकृष्ण खाँण, नवीन्द्रराज जोशी र महेश दाहालले प्रशिक्षण दिएका थिए । अबको दिनमा कांग्रेलाई कसरी अगाडि बढाउने, कुन ढंगले कम्युनिस्ट सरकारको कामकारबाहीको प्रतिवाद गर्ने, पार्टीमा गुट–उपगुटलाई कसरी व्यवस्थित गर्ने, तरुण दलका नेता कार्यकर्ताले कस्तो अनुशासन पालन गर्ने विषयमा प्रशिक्षण दिइएको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए । तरुण दलको भेलामा कुनै गुट–उपगुटको गन्ध नदेखिएको भन्दै उनले चैत तेस्रो सातादेखि सातै प्रदेशमा भेला र कार्यक्रम गर्ने बताए । ‘अब हरेक जिल्ला कमिटी, नगर, गाउँ र वडास्तरसम्म तरुण दलको संगठन विस्तार हुन्छ,’ बस्नेतले भने । सोही ढंगले अघि बढ्न तरुण दलका प्रतिनिधिहरूलाई भेलाले निर्देश गरेको उनको भनाइ छ ।

प्रशिक्षण भेलामा पार्टी सभापति शेरबहादुर देउवाले तरुण दलका नेता कार्यकर्ता अनुशासित बन्नुपर्ने बताउँदै राजनीतिक परिवर्तनको नेतृत्व लिन सुझाव दिएका थिए । पार्टी सभापतिको भनाईलाई समर्थन गर्दै नेता पौडेलले पार्टीको भावी नेतृत्व लिन युवाहरू अघि बढ्नुपर्ने विचार व्यक्त गरेका थिए । उनले गुट–उपगुटले पार्टीको संगठन धराशयी बनेकाले आरोप–प्रत्यारोपमा उत्रन नहुने बताए । भेलामा नेताहरू गोपालमान श्रेष्ठ, डा.रामशरण महत, डा.प्रकाशशरण महत, अर्जुननरसिंह केसी, महेन्द्र यादवलगायत पार्टीका नेता सहभागी भएका थिए । तरुण पत्रिकाबाट