प्रधानमन्त्री कप क्रिकेटः एपीएफलको लगातार तेस्रो जित

प्रधानमन्त्री कप क्रिकेटः एपीएफलको लगातार तेस्रो जित

काठमाडौं, १० माघ । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्न सफल भएको छ । शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो । एपीएफले दिएको २ सय १९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १८ रन बनाएको थियो । नतिजासँगै समूह ए बाट सेमिफाइनलमा पुग्ने टिमको पनि टुंगो लागेको छ । समूह ए बाट एपीएफ र त्रिभुवन आर्मी सेमिफाइनलमा पुग्दा कर्णाली, प्रदेश एक र गण्डकी प्रदेश बाहिरिएका छन् । समूह विजेता र उप विजेताको टुंगो भने आर्मी र एपीएफको खेलबाट तय हुने छ । आर्मी र एपीएफको खेल सोमबार हुने छ । यस्तै शनिबार नै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रन बनाएको थियो । जितसंगै समूह ’बी’ को लुम्बिनीले ३ खेलमा ४ अंक जोडेको छ । लुम्बिनी दोस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिमको यो लगातार तेस्रो हार हो । हारसंगै सुदूरपश्चिम प्रतियोगीताबाट बाहिरिएको छ ।