नेकपाको प्रचण्ड–नेपाल समूहले आज शक्ति प्रदर्शन गर्ने

नेकपाको प्रचण्ड–नेपाल समूहले आज शक्ति प्रदर्शन गर्ने

काठमाडौं, ९ माघ ।नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटन विरूद्ध आज प्रदर्शन गर्ने भएको छ । काठमाडौँका नौ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ ।

संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनरत प्रचण्ड–नेपाल समूहले दोस्रोपटक काठमाडौँकेन्द्रित बृहत् जुलुस र विरोध–सभा आयोजना गर्न लागेको हो । काठमाडौँको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट बिहान ११ बजेबाट ¥याली निकाल्ने तयारी भएको नेकपाको प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा ती स्थानहरूबाट सुुरु हुने जुलुस रत्नपार्कमा जम्मा भएपछि मूल जुलुस अघि बढ्ने र भद्रकाली, सहिदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका संयोजकसमेत रहनुभएका श्रेष्ठले जानकारी दिनुुभयो ।

जुलुसलाई व्यवस्थित गर्न प्रचण्ड–नेपाल समूहले युवा संघ र अनेरास्ववियु सहभागी दुई हजारको संख्यामा स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ । मूल जुलुसपछिको विरोध–सभालाई अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । यसअघि प्रचण्ड–नेपाल समूहले १४ पुसमा त्यही स्थानमा बृहत् विरोध–सभा आयोजना गरेको थियो ।