अविश्वास प्रस्ताव दर्ता भएका प्रदेशमा आज सभाको बैठक बस्दै

अविश्वास प्रस्ताव दर्ता भएका प्रदेशमा आज सभाको बैठक बस्दै

काठमाडौं, ७ माघ । प्रदेश नम्बर १ र बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध नेकपाका प्रचण्ड–नेपाल समुहका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रचण्ड–नेपाल समुहले बागमतीमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाउने गरि कसरत गरिरहेको छ । तर, नेकपाको ओली पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव असफल बनाउने गरि नेता कार्यकर्ता आफ्नो पक्षमा पार्ने गरि पहल गरिरहेका छन् ।

प्रदेश नम्बर १ को बैठक दिउँसो २ बजे बोलाइएको छ भने बागमती प्रदेशमा अपरान्ह ३ बजे बैठक बस्नेछ । संविधानको धारा १ सय ८८ ले विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था गरेको छ । संविधानको धारा १ सय ८८ को उपधारा १ र २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मतको लागि राखेको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतले पारित हुन नसके मुख्यमन्त्री पदमा रहन मिल्दैन ।

त्यसपछि धारा १ सय ६८ अनुसार प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था संविधानले गरेको छ । यसैबीच, प्रदेश १ को काँग्रेसको संसदीय दलको बैठक आजपनि बस्दैछ । आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारे निर्णय गर्न हिजो बसेको छ बैठक बिना निस्कर्स सकिएपछि बैठक आज फेरि बस्न लागेको हो । मुख्यमन्त्री राईलाई पदमा रहिरहन र प्रचण्ड–नेपाल समुहलाई अविश्वासको प्रस्ताव पास गर्न पनि काँग्रेसको समर्थन चाहिन्छ । तर, काँग्रेसले यसबारे केही निर्णय गरेको छैन ।