हेर्दाहेर्दैमा रहेको संसद विघटनविरुद्ध मुद्दाको बहस आज हुने

  • 11
    Shares
हेर्दाहेर्दैमा रहेको संसद विघटनविरुद्ध मुद्दाको बहस आज हुने

काठमाडौं, ७ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेका प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दाको बहस आज हुने भएको छ ।

हिजोका लागि तय भएको बहस हेर्दाहेर्दैमा राखेर आजका लागि सुनुवाई सारिएको हो । आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा पाँच अधिवक्ताले बहस गरेका थिए । रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गर्नुभएको थियो । प्रतिनिधि सभा विघटनविरूद्ध परेको रिट निवेदनबमोजिम हिजो संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताउनुभयो । संवैधानिक इजलासमा सुनुवाइ भएको हिजो तेस्रो दिन उहाँले रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै मन्त्रिपरिषद्ले सिफारिसमा गर्दैमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न नसक्ने तर्क दिनुभयो । रिट निवेदक भण्डारीकै तर्फबाट अधिवक्ता शेरबहादुर ढुंगानाले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको जनाउँदै कानूनविरूद्व भएको विघटन बदर गरी पुनर्स्थापना हुनुपर्ने माग गर्नुभयो ।

रिट निवेदकका तर्फबाट ३ सय १० जनाले वकालतनामा हालेका छन् । यसैगरी, वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन संवैधानिक वा राजनीतिक विषय हो भन्नेबारेमा प्रष्टसँग बुझ्न संविधानको दृष्टिकोणबाट हेर्नुपर्ने तर्क राख्नुभयो । एउटै वकिले ५ घन्टा लामो बहस गरेपछि इजलासले समयको ख्याल गर्न यसअघि नै रुलिङ्ग गरिसकेको छ ।