फुटेर होइन जुटेर अघि बढौं, पत्रकार महासंघको भावी नेतृत्व सर्वसहमतीमा चयन गरौंः युनियन अध्यक्ष सिग्देल

फुटेर होइन जुटेर अघि बढौं, पत्रकार महासंघको भावी नेतृत्व सर्वसहमतीमा चयन गरौंः युनियन अध्यक्ष सिग्देल

–रामचन्द्र दुलाल–

काठमाडौं, ६ माघ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको मिति तय भएसंगै चुनावी सरगर्मी बढेको छ ।

यसैबीच प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासंघको आगामी नेतृत्व सबै संगठनहरुको सर्वसहमतीमा चयन गर्न युनियनले पहल शुरु गरेको बताउनुभएको छ ।

आज पत्रकारहरुबीच युनियनले आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष सिग्देलले युनियनको नेतृत्वमा सर्वसहमतीले महासंघको नेतृत्व चयनकालागि सबै संगठनहरुलाई आहवान गर्नुभएको हो ।

‘अहिलेको विषम परिस्थितिमा पत्रकारका संगठनहरु फुटेर होइन जुटेर अघि बढ्नुपर्ने आवश्यकता रहेकोले पत्रकारहरुको छाता संस्था पत्रकार महासंघका जिल्ला, प्रतिष्ठान, प्रदेश र केन्द्रमा सर्वसहमतीले नेतृत्व चयन गर्न सबै संगठनहरुसंग छलफल प्रारम्भ गरेका छौं’ – सिग्देलले भन्नुभयो ।

अहिलेको राजनीतिक जटिलताका बीच पत्रकार महासंघको भावी नेतृत्व अझै बढी साझा चरित्रको हुनुपर्ने कुरामा जोड दिदै सिग्देलले लोकतन्त्रको रक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मुल एजेण्डा बनाएर अझै पनि लड्नुपर्ने अवस्था भएकोले लोकतन्त्र, पूर्ण प्रेस स्वतन्त्रता र नागरिक अधिकारकालागि सबै विचारका पत्रकारहरु एकजुट भएर महासंघकाे नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो ।

गत माघ ३ र ४ गते सिन्धुपाल्चोकको हेलम्बुमा बसेको महासंघको १२ औं पूर्ण बैठकले आगामी फागुन ४ र ५ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । महासंघले आउँदो माघ २० गतेसम्म सबै शाखाहरुको साधारणसभा र माघ ३० सम्म प्रदेशको साधारण सभा सम्पन्न गरिसक्ने निर्णय पनि गरेको महासंघका सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।

महासंघले निर्वाचन प्रक्रिया सम्पन्न गर्न १ जना वरिष्ठ पत्रकारको संयोजकत्वमा ४ जना अधिवक्ता र समावेशी क्षेत्रका पत्रकारको समेत प्रतिनिधित्व हुने गरी ७ सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गर्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको छ ।

सचिव थापाकाअनुसार महासंघले अनुमोदन भएका नयाँ सदस्यको विवरण माघ १५ गतेसम्म केन्द्रीय कार्यालयमा पठाउन प्रदेश समितिलाई आग्रह गरेको छ । अहिले महासंघका जिल्ला र प्रतिष्ठान शाखाहरुको अधिवेशन धमाधम भइरहेको छ । पहिलो पटक प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने महासंघको निर्वाचन भने महाधिवेशन सम्पन्न भएको एक महिना पछि मात्र हुने छ ।