भारतमा कोरोना विरुद्धका खोप लगाएकामध्ये ४ सय ४७ जना बिरामी

भारतमा कोरोना विरुद्धका खोप लगाएकामध्ये ४ सय ४७ जना बिरामी

काठमाडौं,५ माघ ।भारतमा कोरोना विरुद्धका खोप लगाएकाहरु बिरामी पर्न थालेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना विरुद्धका खोप लगाएकामध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको पुष्टि गरेको छ ।

मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरि १६ जनवरीका दिन खोप लगाएकामध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको र ३ जना अस्पताल भर्ना भएको जानकारी दिएको हो । खोप लगाएपछि निगरानीमा रहेकाहरुमध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य सचिव डाक्टर मनोहर अगनानीले खोप लगाइसकेपछि अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएमा त्यसलाई गम्भीर भन्न सकिने उल्लेख गर्दै हालको अवस्थामा जम्मा ३ जनालाई मात्रै अस्पताल भर्ना गरिएकाले यसलाई गम्भीर भन्न नमिल्ने बताउनुभयो । उहाँले खोप लगाएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने र मन आत्तिने जस्ता समस्या देखिएको पनि बताउनुभयो । स्वास्थ्य सचिव अगनानीका अनुसार पहिलो दिन २ लाख ७ हजार २ सय २९ जनालाई खोप लगाइसकिएको छ ।

भारत विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म १ करोड ५७ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् एक लाख ५२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।