मार्च महिनामा अमेरिकामा कोरोनाको नयाँ भेरिएन्टको दर बढ्ने वैज्ञानिकको चेतावनी

मार्च महिनामा अमेरिकामा कोरोनाको नयाँ भेरिएन्टको दर बढ्ने वैज्ञानिकको चेतावनी

काठमाडौँ ।अमेरिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट अर्थात् नयाँ प्रकारको कोरोना भाइरस मार्च महिनासम्म तीव्र गतिमा वृद्धि हुने अमेरिकी स्वास्थ्य वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

वैज्ञानिकहरुले आउने मार्च महिनासम्म बेलायतमा फेला परेको कोरोना भाइरसको नयाँ भेरिएन्टले अमेरिकाको एक समूहलाई ठूलो सङ्ख्यामा सङ्क्रमित बनाउन सक्ने चेतावनी दिएका छन् । अमेरिकाको केन्द्रीय रोग रोकथाम केन्द्र (सीडीसी) का वैज्ञानिकहरुले यस्तो चेतावनी दिएका हुन् । सीडीसीका अनुसार आउने केही हप्तामा भाइरसको नयाँ भेरिएन्टले तीव्र गतिमा मानिसलाई सङ्क्रमित बनाउन सक्ने भएकाले समयमै सावधान र सतर्क रहन पनि आग्रह गरेको छ । सीडीसीले चिसो मौसममा कोरोना सङ्क्रमणको दर वृद्धि हुँदै गएको भन्दै यस अवस्थामा नयाँ कोरोनाको भेरिएन्टमा वृद्धि हुँदा त्यसले मुलुकको स्वास्थ्य प्रणालीमाथि समस्या हुन सक्ने पनि बताएको छ ।

अमेरिका कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोनाका कारण ४ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने २ करोड ४२ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् ।