एमसीसीबारे तत्काल निर्णय गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

एमसीसीबारे तत्काल निर्णय गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

काठमाडौं, २ माघ ।ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालमा लागु गर्ने वा नगर्ने बारे तत्काल निर्णय लिनुपर्ने बताउनुभएको छ ।

शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले एमसीसी अहिलेको परियोजना नभएका कारण लागू गर्ने वा खारेज गर्ने भन्ने विषयमा छिटो निर्णयमा पुग्नुपर्ने बताउनुभएको हो । उर्जामन्त्री रायमाझीले लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दावी गर्नुभयो । ऊर्जा संकट निवारण गर्न ९९ बुँदे योजना आफूले तयार गरेको र कुलमान घिसिङलाई पनि प्राधिकरणमा आफूले नै लगेको उहाले दावी गर्नुभयो ।

मन्त्री रायमाझीले प्रतिनिधि सभा विघटन बाध्यात्मक कदम भएको बताउँदै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालकै कारण त्यस्तो परिस्थिति आएको बताउनुभयो ।

उहाले सरकार तोकिएको समयमा निर्वाचन गर्न प्रतिवद्ध रहेको धारणा पनि राख्नुभयो ।