ओली पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा लिखित पत्र बुझायाे

  • 4
    Shares
ओली पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा लिखित पत्र  बुझायाे

काठमाडौँ,२९ पुस।नेकपा ओली पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा लिखित पत्र बुझाएको छ ।

बुधबार आयोगले पार्टीको आधिकारिकता बारेमा मागेको पत्रको लिखित जवाफ बुझाउदै ओली पक्षले पार्टीका अध्यक्ष र महासचिवबीना बैठक नै बस्न नसक्ने प्रावधान पार्टीको अन्तरिम विद्यानमा रहेको भन्दै आधिकारिकता दाबी गरेको हो ।

नेकपाको अन्तरिम विधानले महासचिव विना बैठक बस्नसमेत नसक्ने परिकल्पना गरेको र महासचिव विना बसेको अर्को समूहको बैठक आधिकारीक नहुने जानकारी गराएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

ओली पक्षले आफूसँग राजनीतिक रुपमा विभाजित भएर गएको पुष्पकमल दाहाल प्रचण्ड समूहले बैधानिकता नपाउने दावी गरेको छ । निर्वाचनको तयारीमा सबै जसो राजनीतिक दलहरु लागिसकेको अवस्थामा ढुक्क भएर निर्वाचनको तयारी गर्न अनुरोध गरेको नेम्वाङले बताउनुभयो ।उहाले आयोगका केहि जिज्ञासाहरुका बिषयमा लिखित रुपमा जानकारी गराएको बताउनुभयो ।

सो पक्षका नेम्वाङसहित गृह मन्त्री रामबहादुर थापा, अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगाएत निर्वाचन आयोग पुगेका थिए । केही दिनअघि आयोगले नेकपाका दुवैपक्षलाई प्रक्रियाका बिषयमा स्पष्ट पार्न भनेको थियो ।