म आकाश च्यात्न दिन्न

म आकाश च्यात्न दिन्न

दिनेश विक्रम थापा

पृथ्वी ,
तिमीले ठूला दुखले आर्जेको मुलुक
म,
त्यही मुलुकको सार्वभौम नागरिक
हरेक विहान उठ्ने वित्तिकै
ढोग्छु धर्ती,
एक चिम्टी माटो हत्केलामा उठाएर
टीका लगाउछु निधारमा
र,
चन्द्र सूर्य झण्डा वोकेर
निरन्तर गाउंछु राष्टिय गान ।

चार वर्ण छत्तीस जातको साझा फूलवारी
अनेकताको रंग वोकेर
फुल्ोका छन अदभूत फूलहरु
र, वनेको छ एकताको सुन्दर माला
उस्तै अजम्वरी छ ,
सुनको वाला झुलाउने मधेस
चादीको पर्खाल उभिने हिमाल
सदभावनाको पूल वनाउने पहाड
देश वोकेर नथाक्ने ,
कोशी , गण्डकी र कर्णालीको अविरल यात्रा ।

दुई ढुगांवीचको तरुल हो नेपाल
अनौठो स्वप्नद्रष्टा तिमीलाई सलाम छ
म,
मेची र महाकालीको जलले मुख धुन्छु
देवघाट नुहाएर , पशुपतिमा आरती जगाउदै
मुक्तिनाथमा शंखघण्टा वजाउछु
जनकपुरमा रामसीताको स्वयम्वर गराएर
लुम्विनी पुगेर शान्तिको गीत गाउछु ।

भाइ वाइवल पढ्छ
दाई कुरान पढ्छन्
दिदी मुन्धुम पढ्छिन्
वहिनी त्रिपिटक पढ्छिन्
म हरेक दिन
गाइरहन्छु वेदका ऋचाहरु
हामी संगै नाच्छौं ,
धाननाच ,लाखे र देउडा नाच्छौं
सोरठी , सेलो र घाटु नाच्छौं
थारु, च्याव्रुग ं र मारुनीै नाच्छा्रै ।

हामी सिमामा पहाड वनेर उभिएका छौं
झुक्दैनौ कहिल्यै
थाक्दैनौ कहिल्यै
रगतले भिजोस देशको माटो
व्लिदान हुन चुक्दैनौं
म ,
मृत्यु नदीमा पटक पटक वग्न तयार छु
देशकै लागि
किनकी
मलाई मेरो देश प्रिय लाग्छ
र,
गाइरहन्छु निरन्तर देशको गीत ।

घुस लिन्या र दिन्या दुवै राष्टका शत्रु हुन्
सुदूर भविष्य देख्ने यि आंखाहरु धन्य छन्
तिमीले आर्जेको भूगोल उस्तै छ
तिमीले वजाएको राष्टियताको धून उस्तै छ
क्रान्तिको उन्मादमा एक थरि मान्छेहरु,
तिम्रा सालिक ढालेर उफ्रे सडकभरि
अहिले ,
उनीहरु साक्षी वसिरहेका छन्
घुस लिन्या र दिन्या दुवै राष्टका मालिक हुन् ।

पृथ्वी ,
म मरेर वचाउछु मेरो देशको राष्टियता
कतै उध्रेछ भने राष्टियता,
सिलाउछु पैचो मागेर सियो उनै विसे नगर्चीसित
कसैले च्यात्न खोजेछ भने सिंगो आकाश
म अमरसिंह , भक्ति थापा र कालु पांडेको जुलुस निकाल्छु
म आकाश च्यात्न दिन्न ।