चीन र भारतबाट हालै भएका उच्चस्तरीय भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री ज्ञवाली

चीन र भारतबाट हालै भएका उच्चस्तरीय भ्रमण उपलब्धिमूलक :  परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, १९ मंसिर ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा उहाँले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको जानकारी दिनुभयो । भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमण कोभिड–१९ को सङ्क्रमणपछि नेपाल र भारतबीच रोकिएका द्विपक्षीय भ्रमणको शुरुआत भएको जनाउँदै मन्त्री ज्ञवालीले भ्रमणमा दुई देशबीचको सीमा समस्या औपचरिक कार्यसूचीमा समावेश गरिएको बताउनुभयो । नेपाल–भारत संयुक्त समितिको बैठक चाँडै हुने र दुवै देशबीचका थाती रहेका विषय सो बैठकमार्फत यथाशक्य समाधान गर्न पहल गरिने उहाँँको भनाइ थियो । यसैगरी चीनका रक्षामन्त्री वेइको नेपाल भ्रमण सैनिक सहयोग आदानप्रदान गर्न र द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न महत्वपूर्ण भएको उहाँले बताउनुभयो । मन्त्री ज्ञवालीले गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला भएका सम्झौतालाई गति दिन पनि सो भ्रमण फलदायी बताउनुभयो ।

बैठकमा सत्तारुढ नेकपाका सांसद भीम रावलले भारतको गुप्चतर संस्था ’रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटप्रति आपत्ती जनाउनुभयो । भारतले विगतदेखि नै गुप्तचर संस्थामार्फत नेपालमा शुक्ष्म व्यवस्थापन गर्दै आएको र त्यसको जनताको स्तरबाट विरोध भएको स्मरण गर्दै रावलले आगामी दिनमा त्यस्ता गतिविधि दोहोरिन नदिने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै सांसद प्रकाशमान सिंहले भारतसँग मात्र नभई चीनसँगको सीमा विवादका सम्बन्धमा पनि जिज्ञासा राख्नुभएको थियो । सांसद दिव्यमणि राजभण्डारीले सरकारको परराष्ट्र नीतिबारे जनताले जानकारी पाउनुपर्ने माग राख्नुभएको थियो । समितिका सभापति पवित्रा निरौलाले समितिको अर्काे बैठकमा मुलुकको राष्ट्रिय सुरक्षा नीतिका बारेमा रक्षा मन्त्रालयसँग छलफल गरिने जानकारी दिनुभयो ।