एक खुट्टे नृत्याङ्गना रोमा ठगीको आरोपमा पक्राउ

एक खुट्टे नृत्याङ्गना रोमा ठगीको आरोपमा पक्राउ

एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने ठगीको आरोपमा पक्राउ परेकी छन् । महानगरीय प्रहरी परिसरको टोलीले बिहिबार न्यौपानेलाई पक्राउ गरेको हो। उनीविरूद्ध ३६ लाख रूपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

 

२०७२ साउन १९ मा कोहिनुर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले रोमाविरुद्ध साढे ३६ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता गरेका थिए ।

ठमेलमा भीएडी अर्थात ‘भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज’ नामक संस्था खोलेर रोमा र उनका श्रीमान चिरञ्जीवी पोख्रेलले त्यसमा लगानी गर्न सार्वजनिक विज्ञापन गरेका थिए ।

भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ ।

जिल्ला अदालतले २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो भने रोमा फरार थिइन् ।

८ वर्षको उमेरमा बस दुर्घटनामा देब्रे खुट्टा गुमाएकी उनी एउटा खुट्टाकै भरमा कुशल नृत्य गर्न सक्ने भनी चर्चित भइन् । टेलिफिल्म र म्युजिक भिडियोमा समेत आफ्नो प्रतिभा देखाएकी उनले पछिल्ला वर्षमा देश(विदेशमा हुने स्टेज सोहरूमा नृत्य प्रस्तुत गर्ने गरेकी छन्।